झापा, १७ साउन । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् ।
मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित पाइएका छन् ।
मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताए । सो अस्पतालमा दैनिक एक हजार दुई सय बिरामी ओपिडी जाँचका लागि जाने गरेका छन् । अस्पताल धाउने आँखाका बिरामीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उनले बताए।
बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले सङ्क्रमणको सुरूआतमा आँखा बिझाउने र चिलाउने समस्या देखापर्ने बताए । उनले यसलाई ‘सिजनल भाइरल इन्फेक्सन’ भनिने जानकारी दिँदै आँखामा कचेरा आउने, आँसु बगिरहने, घाममा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखापर्नेसमेत बताए ।
दाहालले बिर्तामोड आँखा अस्पतालमा दैनिक आउने छ सय बिरामीमध्ये तीन सय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको जानकारी दिए । गर्मीयाममा यसको प्रकोप फैलिने र यसबाट सबै उमेरका मानिस सङ्क्रमित हुने बताए । उनले विशेष गरेर पछिल्लो समय स्कुल, कलेजका विथार्थीमा यो रोगको प्रकोप बढी देखिएको बताए ।
मेचीनगरको काँकडभिट्टामा रहेको मेची नेत्रालयमा दैनिक सयको हाराहारीमा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेको नेत्र अधिकृत योगेन्द्र राउतले बताए । ‘भाइरल फ्लू’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि एक साताभित्रमा रोग निको हुने उनले जानकारी दिए ।
मेचीनगर–४ बाहुनडाँगीकी १४ वर्षीया रोशिका तामाङले सुरुमा आँखा बिझाउने र विस्तारै रातो हुने र सुन्निने समस्या देखापरेपछि काँकडभिट्टाको मेची नेत्रालयमा उपचारका लागि गएको बताए । अस्पतालमा उपचार गराएको एक हप्तापछि अलि राम्रो हुन थालेको बताए ।
मोबाइल, कपडालगायतका सामानबाट एक व्यक्तिको आँखा पाक्ने रोग परिवारका सदस्य र साथीहरूमा सजिलै सर्ने चिकित्सक बताउँछन् । काँकडभिट्टा आँखा अस्पताल, दिव्यज्योति आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र बिएन्डसी हस्पिटलमा समेत आँखा पाक्ने रोगका सङ्क्रमित उपचारका लागि भीड लाग्ने गरेको पाइएको छ । रासस