Logo

हामीले आँत्तिएर सिस्टमकै विरोध गर्न थाल्यौं भने त्यो गल्ती हुन जान्छ: बार अध्यक्ष गोपालकृष्ण घिमिरे



काठमाडौं, १८ साउन । अहिले देश भ्रष्टाचारको दलदलमा छ । सरकारका हरेक निकाय भ्रष्टाचारले ग्रस्त छन् । राज्यका सबै निकायहरुमा विकृति, विसंगति र भ्रष्टाचार मौलाएको छ । सरकारले पछिल्लो समय नक्कली भुटानी शरणाार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणको फाईल खोलेको छ ।

कारबाही प्रक्रिया अगाडि बढाएको छ । यद्यपि सरकारले सत्ता टिकाइराख्न बेलाबेलामा स्टन्टबाजी गर्ने गरेको अरोप पनि लाग्ने गरेको छ । विमानस्थलको सुरक्षा व्यवस्थालाई चुनौति दिँदै एयरपोर्टबाट एक क्वीन्टलभन्दा बढी सुन बाहिरिँदै गर्दा राजश्व अनुसन्धानको टोलीले पक्राउ गर्न सफल भयो । उक्त प्रकरणमा ट्याक्सी चालक र भरियामात्रै पक्राउ परेका छन् । सुनको मालिक को थियो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । यस्तो अवस्थामा जनताले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नै प्रश्न उठाउन थालिसकेका छन् ।

अहिलेको समसायिक विषय सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र व्याप्त भ्रष्टाचारको विषयको निश्पक्ष छानविन, दोषीलाई कारबाही र देशमा सुशासन स्थापित गराउने विषयमा रिपोर्टर्स क्लब नेपालले विज्ञहरुसँग अन्तरक्रिया गरेको छ । क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरुले सिस्टम परिवर्तन भन्दा पनि देशमा सुशासनको खाँचो रहेको बताए ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले डेमोक्रेटिक पोलिटिकल सिस्टममा व्यक्ति खराब हुनसक्ने तर सिस्टम खराब हुन नसक्ने दाबी गरे । अहिलेको सिस्टम ल्याउनका लागि थुप्रैले साहदत गर्नुपरेको स्मरण गर्दै उनले केही व्यक्ति खराब भए भन्दैमा व्यवस्था परिवर्तनको आवश्यकत्ता नरहेको बताए ।

‘हामीले डेमोक्रेटिक पोलिटिकल सिस्टमको लागि संघर्ष गरेको हो । डेमोक्रेटिक पोलिटिकल सिस्टममा व्यक्ति खराब हुन सक्छ तर त्यो सिस्टम खराब हुँदैन । अहिलेको सिस्टम ल्याउनका लागि थुप्रै साहदत भएको छ ।’ उनले भने,‘अहिलेको संविधान दुई पटकको संविधानसभाको चुनावमार्फत घोषित गरिएको संविधान हो । अहिले सिस्टम परिवर्तनको कुरा छैन, केवल व्यक्ति कस्तो भयो भन्ने कुरा उठिराखेको छ ।’

देशमा सुशासन कायम हुन नसकेको कारण नै अहिले देशमा बेथिति बढेको उनको दाबी छ । उनले मुलुकलाई सुशासनतर्फ लान सकेको खण्डमा राजनीतिक, सामाजिक, आर्थिक र न्यायलयमा रहेको समस्यामा सुधार आउने बताए ।‘सुशासन हुन नसकेको कारण नेपाली जनता पीढित छन् । मुलुकलाई सुशासनतर्फ लान सकेको खण्डमा चाहे पोलिटिकल समस्या होस्, चाहे सामाजिक समस्या होस्, आर्थिक क्षेत्र होस् वा कानुनी क्षेत्र होस्, न्यायलयको क्षेत्र होस् सबै ठाउँमा सुशासनको अभाव छ,’– उनले भने ।

अहिले संस्थाहरुलाई अनुशासित बनाउन नसकेको परिणम देशले भोगिरहेको उनको भनाई छ । डेमोक्रेशीमा संस्थाहरु मर्यादित, सक्षम, अनुशासित हुनु अपरिहार्य रहेको उनले बताए । संस्थाहरु मर्यादित, सक्षम, अनुशासित भएमात्रै मुलुकले फड्को मार्ने उनको भनाई छ ।

आफूहरु यो व्यवस्था प्राप्तिको लागि जीवनभर लडेको स्मरण गर्दै उनले दुई/चार जना व्यक्तिले गरेको छिटफुट घट्नाका कारण व्यवस्थाकै विरोध गर्नु गलत हुने बताए । ‘हामी जुन स्वतन्त्रताको लागि जीवनभर लड्यौं, दुई चार जना व्यक्तिले गरको छिटफुट घटनाबाट, अनुशासनको घटनाबाट हामीले आँत्तिएर सिस्टमकै विरोध गर्न थाल्यौं भने त्यो गल्ती हुन जान्छ,’–उनले भने ।

आफूहरुले न्यायालयमा सुशासन चाहेको उनले बताए । न्यायलयको सुशासनकै लागि विगतमा एक सय ९ दिन आन्दोलन गरेकोसमेत उनले स्मरण गराए । प्रधानन्यायाधीश, उच्च अदालतका न्यायाधीश, जिल्ला अदालतको न्यायाधीश नियुक्तिको लागि बारले आन्दोलन गर्नु परिरहेको भन्दै उनले दुःख व्यक्त गरे ।

‘हामी नेपाल बार एशोसिएसनमा आवद्ध कानुन व्यवसायी हौं । न्यायलयमा सुशासन रहोस् भन्ने चाहन्छौं । अहिलेको अवस्था के हो भने नेपाल बार एशोसिएन विगतमा एक सय ९ दिनको आन्दोलनमा थियो । हामीले त प्रधानन्यायाधीश नियुक्ति गर्न पनि आन्दोलन गर्नुपरेको कुरा यहाँहरुबीचमा छर्लङ्ग छ,’– उनले भने ।

न्यायलयभित्र अनियमितता छ भनिएको हरिकृष्ण कार्कीको प्रतिवेदनको आधारमा नेपाल बार एशोसिएनले न्यायलय सुधारका लागि आन्दोलन गरेको उनको भनाई छ । अहिलेका हरेक घटना सुशासन र भ्रष्टाचारसँग जोडिएको उनले बताए ।

उनले हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायलयको सुधारका लागि तयार गरेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरेको बताए । उक्त प्रतिवेदन कार्यान्वयन गर्ने दायित्व सर्वोच्च अदालतको भएको र सर्वोच्चको पूर्ण बैठकले उक्त प्रतिवेदन स्वीकार गरेर कार्यन्वयनमा ल्याउन आवश्यक रहेको बताए ।

अहिले पेशी व्यवस्थापनमा गोलाप्रथा रहेको स्मरण गराउँदै उनले प्रधानन्यायधीशले पेशी तोक्ने व्यवस्थाबाट गोलाप्रथामा प्रवेश गर्नुमा न्यायाधीशमाथिको विश्वास कम हुँदै गएको बताए । गोलाप्रथालाई पनि फेल गराउने कोशिस भइरहेको उनको भनाई छ ।

नेपाल बारले इमानदार, स्वच्छ र निष्पक्ष भूमिका भएको न्यायाधीशको चाहनासहित काम गरिरहेको उनले बताए । आफूहरु न्यायीक सुशासनको पक्षमा रहेको र यो अभियान जनताले न्यायलयप्रतिे विश्वास गर्ने वातावरण नबनेसम्म निरन्तर चलिरहने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot