Logo

मानुङकोटमा घट्यो पर्यटकको चहलपहल



तनहुँ, साउन २२ । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ ।

कोभिड संक्रमणकै बीचमा सो स्थान अत्यधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ ।

विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गरेको छ । गर्मी मौसम भएका कारण पर्यटक मानुङ नउक्लिएको हुनसक्ने आँकलन गरिएको छ ।

जाडो महिनामा मानुङकोटमा पर्यटकको भीड हुने व्यास–५ वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने,‘मानुङकोटको विशेषता भनेको जाडोयामको हो,जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।’

अहिले पनि अलिअलि पर्यटक आउने उनको भनाइ छ । जाडो मौसममा भने दैनिक सयौँको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेका छन् ।

मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुल्ने क्रम बढेको छ । उनले भने,‘मानुङकोटको पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले पनि प्रयास गर्दै आइरहेको छ । प्रत्येक वर्ष मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै आएको छ ।’

मानुङकोटबाट धौलागिरि,अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot