Logo

बिमा रकमको लोभमा आफ्नै टिपरमा आगजनी गर्ने खत्री दाजुभाइसहित तीनजना पक्राउ



काठमाडौं,३१ साउन । बिमा रकम प्राप्त गर्ने उदेश्यले आफ्नै टिपरमा आगजनी गर्ने रामेछापका दुई दाजुभाइसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रामेछापको मन्थली नगरपालिका–१२ घर भइ काठमाडौंको कोटेश्वर बस्ने ३४ वर्षीय प्रदीपकुमार खत्री र उनकै भाइ भीमसेन खत्री र सिन्धुलीको दुधौली नगरपालिका–१४ का रंगबहादुर बुढाक्षेत्री रहेका छन् ।

उनीहरूलाई प्रहरी वृत्त चापागाँउ ललितपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रदिपकुमारले चार महिना अघिमात्रै मासिक किस्ता तिर्ने गरेर बा.३ ख २८९४ नम्वरको उक्त टिपर खदिर गरेका थिए ।

टिपर उनकै भाइ भीमसेनले चलाउने गरेका थिए । चलाउँदाचलाउँदै बिग्रेको उक्त टिपर भीमसेनले ललितपुरको ठेचोस्थित नख्खु खोलामा छाडे ।

उनीहरूले पछि टिपर बनाउन खोज्दा महंगो हुने देखिएपछि साउन १२ गते राति सिन्धुलीको दुधौली नगरपालिका–१४ का रंगबहादुर बुढाक्षेत्रीको सहयोगमा आफैँले आगो लगाएका थिए ।

आफैँले आगो लगाएको उक्त टिपरको बिमाको लागि चाहिने कागजात र दोषीमाथि कारबाहीकाले लागि माग गर्दै खत्री दाजुभाइ प्रहरीमा पुगे । तर प्रहरीको अनुसन्धानले आगजनीमा उनीहरूकै संलग्नता देखाएपछि तीनैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot