काठमाडौं, ११ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आवद्ध रहेका तीनवटा दलका प्रभावशाली नेताहरुले सरकारमा कुनै समस्या नरहेको बताएका छन् । आज (सोमाबार) रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको अध्यक्षतामा आयोजित विशेष साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेका नेता दीपक खड्का, नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व न्यायाधिवक्ता मुक्ति प्रधान र जनता समाजवादी पार्टी (जसपा) का नेता मनिश सुमनले सरकार सही गतिमा अगाडि बढिरहेको र गठबन्धन दलका बीचमा कुनै समस्या नरहेको बताएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) का नेता मनिष सुमनले सरकारले गौर काण्डका बारेमा गरेको सहमतिको बुँदा नम्बर १ सँग पार्टीले आपत्ति जनाएको बताए । ‘गौर काण्डका बारेमा सरकारले गरेको सम्झौतालाई हामीले गम्भीरताका साथ लियौं । किनकी बुँदा नम्बर १ विवादास्पद थियो ।’ उनले भने, ‘पूर्वाग्रही जाहेरीलाई आधार मानेर १७ वर्षपछि निर्दोषलाई फसाउने उद्देश्यका साथ त्यो सम्झौताको बुँदा १ थियो भनेर हामीले प्रधानमन्त्रीजीलाई भेटेर असन्तुष्टि व्यक्त गरेकै हो ।’
प्रधानमन्त्री प्रचण्डले उक्त बुँदा नं. १ को सम्झौता करकापमा गरेको बताएको उनको भनाई छ । उनले सरकार र पीडितबीच भएको अन्य सम्झौताहरु सालिक बनाउने, क्षतिपूर्ति दिने, राजपत्रमा प्रकाशित गर्ने भन्नेमा जसपाको कुनै फरक मत नरहेको बताए । उनले सरकार र गौर काण्डका पीडितबीच भएको सहमतिको बुँदा नम्बर १ लाई मिलाउने सन्दर्भमा कानुनी परामर्श लिएर अगाडि बढ्ने प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता व्यक्त गरको बताए ।
‘प्रधानमन्त्रीजीले त्यस्तो केही हुँदैन, त्यो कुनै करकापमा मैले गरेँ । कहाँबाट भयो भन्ने म आफैं प्रष्ट छैंन,’–नेता सुमनले भने, ‘बुँदा नम्बर १ लाई कसरी मिलाउन सकिन्छ म कानुनी सल्लाह लिन्छु भनेर प्रधानमन्त्रीले भन्नु भएको छ ।’
उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरिरहको बताए । साथै अहिलेको सरकार, गठबन्धन र समाजवादी मोर्चाको जनक जसपा भएको उनको दाबी छ । ‘हाम्रो नजरमा जनता समाजवादी पार्टीले राम्रो काम गर्दैछ । हामी यो सरकार निर्माणको जनक हौं । यो सरकार निर्माण गर्ने हामी जनक नै हौं । गठबन्धनको जनक हौं । गठबन्धनभित्र पनि समाजवादी मोर्चाको प्रमुख घटक हौं । आफैंले बनाएको घर कसलाई मन पर्दैन र अलिकति कोठा नमिले पनि ठीकै छ,’– उनले भने ।
ललिता निवास प्रकरण, शरणार्थी प्रकरण र सुनकाण्डमा सरकारले निर्वाह गरेको भूमिकामा आम जनताले सरकारलाई स्यावासी दिइरहेको उनको भनाई छ । वर्षौदेखि गाडिएका मुद्दा उखेलिएको र पूर्णता पनि पाउने उनले विश्वास व्यक्त गरे । सरकार जसपासँग डराउन पर्ने कुनै कारण नरहेको उनले बताए । जसपाले सरकारले थालेको सुशासनका कामकारबाहीमा निरन्तर सहयोग गरिरहने उनको भनाई छ ।
‘सरकारलाई जनता समाजवादीबाट डराउन पर्ने केही छैन । जनमत पाटी सरकारमा सामेल हुँदा पनि हामी खुसी नै छौं,’– उनले भने । जनमतले उपराष्ट्रपतिको निर्वाचन र बारा–२ को उपनिर्वाचनमा गठबन्धन विरोधी काम गरेपनि आफूहरुले सहज रुपमा लिएको उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संसदीय समितिका समेटेपछि कोशी प्रदेशमा रहेको अस्थिरता अन्त्य हुने निश्चित भएको उनको भनाई छ ।
उनले कोशीमा अब मध्यावधि टरेको बताए । उनले राप्रपालाई पनि सरकारमा समेटेमा आफूहरुलाई कुनै आपत्ति नरहेको बताए । उनले जसपाले सरकारसँगको सम्बधन दीगो रुपमा रहोस् भन्ने चाहेको बताए । जसपाबाट नआत्तिन सरकारलाई आग्रह गर्दै उनले सरकारले अहिले ठीक काम गरिरहेको बताए ।