Logo

सत्ताको चाबी छ भन्दैमा सधैंभरि लुकाएर राख्न मिल्दैन : राप्रपा उपाध्यक्ष प्रधान



काठमाडौं, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री ध्रुवबहादुर प्रधानले आफ्नो पार्टीले संसदीय समितिको सभापतिसँग सत्ता साटफेर नगरेको दाबी गरेका छन् ।
‘अहिले राप्रपालाई संसदीय समितिको सभापति दिनु सत्तारुढ गठबन्धनको सुझबुझ हो । तर यसलाई सत्तासँग साटेको कुरा साँचो होइन । कोशी प्रदेशको अस्थिरताबारे अवगतै छ । यसलाई कसरी निकास दिने भन्ने छलफल हुन बाँकी छ । हामीले बाहिर बसेर पनि समर्थन गर्न सक्छौं, सरकारमा गएर पनि समर्थन गर्न सक्छौं अथवा मध्यावधिमा पनि जानुपर्ने हुन सक्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
राप्रपा संघ र प्रदेश सरकारमा जान लागेको होइन र भन्ने प्रश्नमा नेता प्रधानले भने, ‘हो, कोशी प्रदेशमा सत्ताको चाबी हामीसँगै छ । तर चाबी छ भन्दैमा सधैंभरि लुकाइरहने भन्ने हुँदैन । सभामुख र एक मन्त्री लिने किन नलिने भन्ने समर्थनको निर्क्यौल भएपछि नै थाहा हुन्छ । तर हामी कोशी प्रदेशको अस्थिरताबारे चिन्तित छौं । सरकारमा जान त हामीलाई जहिल्यै अफर आइरहेकै छ नि ।’
आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन फर्केपछि थप कुरा स्पष्ट हुने पनि प्रधानले औंल्याए । उनले भने, ‘अब के गर्ने भन्ने बारे निर्णय गर्न समय लाग्दैन । सरकारमा जाने मात्र हाम्रो म्यान्डेट होइन । हामी जनतालाई निराश पार्न चाहँदैनौं । जनता जनार्दन हुन् भन्ने बिर्संदैनौं ।’ साथै उनले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को निर्णय गलत हो भने पूर्वप्रधानमन्त्रीहरुमाथि पनि अनुसन्धान हुनुपर्ने औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot