Logo

गाईजात्रा आजै हो, भोलि बिदा दिनु बालेनको राजनीति होला : संस्कृतिविद्



काठमाडौं, १४ भदौ । संस्कृतिविद् प्रा. डा. रामचन्द्र गौतमले रक्षाबन्धन, गाईजात्रा, ऋषि तर्पणी, क्वाँटी खाने दिन, संस्कृत दिवस आजै परेको बताएका छन् ।
‘सूर्योदयमा तिथि भएन भने छुटेको भनिन्छ । आज बेलुकी सात–आठ बजेसम्म जनैपूर्णे छ, त्यसपछि प्रतिपदा हो । भोलि कुनै तिथि छैन । त्यसैले जनैपूर्णिमा, गाईजात्रा, ऋषि तर्पणी, क्वाँटी खाने दिन, संस्कृत दिवस आजै पर् यो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
काठमाडौंका मेयर बालेन शाहले आजको गाईजात्राको बिदा भोलि दिनु राजनीति हुन सक्ने उनले औंल्याए । गौतमले भने, ‘बालेनले के गरे, त्यो उनको कुरा हो । राजनीति पनि होला । हामी शास्त्रीय कुरा मात्र गर्छौं । शास्त्रले जे भन्छ त्यही निर्णय सुनाउँछौं, रक्षाबन्धन र गाईजात्रा दुवै कर्म आजै हो ।’
गौतमले जनै तागाधारीले मात्र लगाए पनि रक्षाबन्धन मानवमात्रका लागि भएको पनि दाबी गरे । उनले भने, ‘आज वैदिक मन्त्र र विधि विधान अनुसार जनै र रक्षासूत्रलाई शक्तिशाली बनाउने काम हुन्छ । तागाधारीले ब्रह्मतेज, दीर्घायु, इज्जत प्रतिष्ठा आर्जनका लागि यज्ञपवित धारण गर्छन् । तर रक्षाबन्धन मानवमात्रका लागि हो । सबैका लागि हो । मन्त्रले जीवनलाई सुरक्षा दिन्छ ।’



प्रतिक्रिया दिनुहोस्