Logo

सरकारले सुशासनको अभियान थालेपछि निराश जनतामा उत्साह पैदा भएको छः वर्षमान पुन



काठमाडौं,१६ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पहिलोपटक जनताले सरकारले गरिरहेको कामको प्रत्यक्ष अनुभूति गर्न पाएको दाबी गरेका छन् ।

आजबाट सुरु भएको माओवादी केन्द्रको तीन महिने अभियानको ‘जनतासँग माओवादी’ को काठमाडौंको गोंगबु क्षेत्रमा उद्धघाटन गर्दै पुनले वर्तमान सरकारले गरेका कामबाट जनतामा नयाँ खालको उत्साह पैदा भएको उल्लेख गरे । उनले राज्यसत्तामा हुँदा शक्तिको दोहन गर्ने कार्य यो सरकारले रोकेको उल्लेख गर्दै सरकारको उक्त कार्यले जनतामा थप उर्जा पैदा भएको बताए ।

‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैधरअवैध ढङ्गले कसरी पैसा कमाउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ । उत्पादन, श्रम वा उद्यमरव्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी) मनीतिर समाज आकर्षित भइरहेको छ । बिचौलिया धन्दा र प्रवृत्ति समाजमा हुर्कँदै गएको छ’, उनले भने, ‘पार्टीहरू, राज्य संयन्त्र र समग्र समाजको शुद्धीकरणलाई सरकारले प्राथमिकतामा राखेर सुशासनको अभियान थालेपछि निराश जनतामा उत्साह पैदा भएको छ ।’

उपमहासचिव पुनले माओवादीले कुनै पार्टी र दलप्रति लक्षित गरी अभियान सञ्चालन नगरेको उल्लेख गर्दै पार्टीको शुद्धिकरणका लागि अभियान सञ्चालन गरिएको स्पष्ट पारे । देशको आर्थिक विकासका लागि उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । उद्योगी व्यवसायीको हकहितको पक्षमा पार्टी सदैव सकारात्मक रहेको उनले बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, उपमहासचिव पुरुषोत्तम सिङ्खडासहित माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्