Logo

नेपालगञ्जमा दमकल सेवा प्रभावकारी



नेपालगञ्ज, १९ भदौ । बाँकेको नेपालगञ्जमा रहेको दमकल सेवा प्रभावकारी हुँदै गएको  छ ।  जिल्लाबाहेक भारतका विभिन्न स्थानमा समेत अग्नि नियन्त्रणमा दमकल सेवा दिन थालिएको छ ।

विगतमा भन्दा अहिले सेवा प्रभावकारी बन्दै गएको नेपालगञ्ज उपमहानगरपालिका, दमकल शाखाका इन्चार्ज झइनबहादुर खड्काले जानकारी दिए । दमकल सेवाका लागि अधिकांश उपकरण सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपलब्ध गराएको हो ।

नेपालगञ्ज उपमहानगरभित्र बजार क्षेत्रमा साँघुरो बाटो भएका कारण आगलागी भएको समयमा दमकल जान नसक्दा ठूलो नोक्सानी हुने गरेको थियो । तर उपलब्ध उपकरणका कारण केही राहत मिलेको इन्जार्च खड्काको भनाइ छ । पहिले दमकलमा पानी भर्न कार्यालयमा पुग्नुपर्ने अवस्था भएकामा अहिले पानी भर्ने स्टेसन निर्माण गरिएकाले सहज भएको उल्लेख गर्दै यस्ता स्टेसन अझै बढाउन आवश्यक भएको बताए । उक्त स्टेसन विपीचोकको गुरुद्वारा क्षेत्रमा रहेको छ ।

“आगलागी भएको अवस्थामा पानी भर्न करिब २० मिनेट समय खर्च हुन्छ, त्यस्तो अवस्थामा ओभरहेड ट्याङ्की भए पानी भर्न छिटो हुन्छ”, खड्काले भने । अझै पनि उपमहानगर क्षेत्रका एकलैनी तथा वडा नं ३ र ७ मा साँघुरा सडक भएकाले ती सडकमा दमकल नजाने भएकाले त्यस्ता ठाउँमा पुग्ने ‘मिनी दमकल’ आवश्यक भएकामा जोड दिँदै उनले विद्युतीय तार र जथाभावी पार्किङका कारण दमकललाई सडकमा हिँड्न अप्ठेरो भएको बताए ।

“साइरन बजाए पनि नागरिक सचेत नभएका कारण बाटोमा जथाभावी हुने गाडी पार्किङले दमकल निश्चित ठाउँमा जान नसक्दा आगलागीबाट क्षति भइसकेको हुन्छ,” उनले भने ।

नेपालगञ्ज उपमहानगरले २०७१, २०७६ र २०७७ सालमा दमकल खरिद गरेको थियो । तीमध्ये एउटामा पाँच हजार पाँच सय लिटर तथा अर्कोमा पाँच हजार लिटर पानी अट्छ । तेस्रो दमकल चार हजार पाँच सय लिटर क्षमताको छ । कोहलपुर नगरपालिकाले २०७४ वैशाख  र नरैनापुर गाउँपालिकाले २०७५ जेठमा दमकल किनेका थिए । यिनै पाँच दमकल जिल्लाका अन्य स्थानीय तह र भारतमा समेत आगो निभाउन प्रयोग गर्ने गरिएका छन् । यी भएका दमकलमा पनि पर्याप्त जनशक्ति छैनन् ।

दमकल शाखामा कार्यरत फायर म्यान जुबेर हल्वाइ भन्छन्, “एउटा दमकल सञ्चालन गर्दा कम्तीमा पनि एक चालक, एक इन्चार्ज र चार फायर म्यान गरी ६ जना चाहिन्छ ।”  नेपालगञ्जमा तीन दमकलका लागि तीन चालक मात्र छन् । एक जना बिदामा बस्दा दमकल चलाउने अर्को व्यक्ति नै हुँदैन । सुपर परियोजना बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले दमकल सेवामा कार्यरत जनशक्तिको क्षमता बढाउने र उनीहरूलाई आवश्यक सुरक्षाका सामग्री सहयोग गरी दमकल सेवालाई प्रभावकारी बनाइएको बताए ।

नेपालगञ्जमा २०७६ देखि २०७९ सालसम्म दुई सय ४० आगालगीका घटना भएका थिए । यसमध्ये सबैभन्दा बढी विद्युतीय कारणले ९३ आगलागीका घटना भएका तथ्याङ्क छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot