Logo

म्याद थप्दा पनि सिटी हल बनेन



भरतपुर, २६ भदौ । चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मङ्सिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

काम सम्पन्न हुन अझै एक वर्ष लाग्ने सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले बताए । “फागुनसम्म काम नसकिए दोस्रो पटक म्याद थप्नुपर्ने हुन्छ”, उनले भने “भवन निर्माण गर्न आर्थिक अभाव छैन । विदेशबाट निर्माण सामग्री ल्याउनुपर्ने भएकाले बढी समय लागेको हो ।”

निर्माण आयोजनाका इन्जिनीयर सुदन खतिवडाका अनुसार हाल सिटी हल भित्रको काम भइरहेको छ । भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडिको चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण भइरहेको छ । दुई हजार व्यक्ति अट्न सक्ने क्षमताको सिटी हल निर्माणको लागत रु ८७ करोड ८९ लाख रहेको छ । सिटी हल बनाउन इन्डो–सगुन–रौताहा जेभी र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबीच २०७७ मङ्सिरमा सम्झौता भएको थियो ।

सिटी हलमा सानो र ठूलो गरी दुईवटा हल रहने छन् । सिटी हल बनेपछि भरतपुरमा ठूलासभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ ।

निकुञ्जको सडक निर्माण गर्न ‘डिपिआर’

चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को कामका लागि वन्यजन्तु ट्र्यापिङ क्यामरा जडान गरिएको छ ।

निकुञ्जको ध्रुवघाटबाट माडीको रिउसम्म वन्यजन्तुको आवतजावत हुने क्षेत्र निर्धारण गर्न (ट्र्यापिङ) क्यामेरा जडान गरिएको हो । सो क्षेत्रमा १० क्यामेरा जडान गरिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले वन्यजन्तु आवतजावतको सङ्ख्या तथ्याङकमा उपलब्ध हुने र त्यसका आधारमा फ्लाइओभर र अन्डरपास निर्माण गर्ने क्षेत्र निर्धारण गरिने बताए । क्यामेरा सो क्षेत्रमा १५ दिन राखिनेछन् ।

निकुञ्जमा जनावर मैत्री पूर्वाधार निर्माणका लागि क्यामरा जडान महत्वपूर्ण रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए। हाल कसरास्थित राप्ती नदीको पुलदेखि ध्रुवघाट हुँदै वनकट्टास्थित रिउ नदीको पुलसम्मको सडक कालोपत्र गर्ने सम्भावना कम रहेकाले विकल्पमा ध्रुवघाटबाट वनकट्टासम्मको सडक अघि बढाउन लागिएको हो । यो सडक झन्डै चार किलोमिटर छोटो हुनेछ । वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज र जनप्रतिनिधिको टोलीले संयुक्त रुपमा यसको स्थलगत निरीक्षण समेत गरेका छन ।

क्यामराको तथ्याङकका आधारमा डिपिआर निर्माण गर्दा ‘अण्डरपास’ र ‘फ्लाइओभर’ बनाउने क्षेत्र निर्धारण गरिने हुलाकी राजमार्ग आयोजनाका निर्देशक शुभराज न्यौपानेले जानकारी दिए । उनले सडक निर्माणका लागि एकसाथ इआइए र डिपिआरको काम अघि बढेको बताए । ध्रुवघाटबाट माडीको रिउसम्म प्रारम्भिकरूपमा सर्भेसमेत गरिने छ । निकुञ्जले क्यामेरा ट्र्यापिङमार्फत वन्यजन्तुको आवतजावको रेकर्ड उपलब्ध गराएपश्चात त्यही तथ्याङ्कका आधारमा डिजाइनको काम अघि बढाइने निर्देशक न्यौपानेले जानकारी दिए ।

डिपिआर निर्माणका लागि छ महिनादेखि एक वर्षसम्म समय लाग्ने छ । भरतपुरबाट माडी प्रवेश गर्दा चितवन राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जङ्गल पार गर्नुपर्छ । कसराबाट वनकट्टासम्म (राप्ती–रिउ) कच्ची सडक छ । वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहिलेकै बाटो सञ्चालनमा ल्याउने गरी इआइए प्रतिवेदन तयार गर्न सहमति दिएको छ ।

पर्साबाट चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट ठोरी हुँदै नवलपरासीको त्रिवेणी जोड्ने झन्डै ३० किमी बाटो बनाउन, आर्थिक वर्ष २०६८/६९ मा ठोरीदेखि चितवनको माडी, जगतपुर, मेघौली, कोलवा, बहुवन हुँदै त्रिवेणी जोड्ने हुलाकी बाटोको नक्सा स्वीकृत भएको थियो । दुर्लभ वन्यजन्तु पाइने चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot