Logo

नेतृत्वलाई शेखरको प्रश्न: सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी कसरी चल्छ?



काठमाडौं,२७ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिदा पार्टी चल्न असहज हुने बताएका छन् ।

बुधबार बीपी स्टडी यूथ सर्कलले काभ्रेमा आयोजना गरेको कार्यक्रममा उनले सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिँदा पार्टी चल्न कठिन हुने बताए ।

उनले भने, ‘अहिले कांग्रेसका सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ । उहाँहरू नै दुई ध्रुवमा बाँडिएपछि पार्टी चल्छ कसरी ? हामीले यो सोचेका छौँ कहिले ? सभापतिय प्रणाली हो भने हामी त्यही हिसाबले हिँड्नुपर्‍यो । होइन भने अरू कुनै उपाय सोच्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । बिपीका पालामा प्रेसिडेन्सियल सिस्टम थियो, चलिराखेकै थियो । अहिले बहु पदीय छ, म बहु पदीयलाई खराब भन्दिनँ । तर यसले पनि हामीलाई बिगारिराखेको छ ।’

उनले कांग्रेस र सरकारको कुरालाई पारदर्शी बनाएर अघि बढ्नुपर्ने बताए । यस्तै, उनले अहिले जातीय लडाइमा फस्दै गइरहेको टिप्पणी गरे ।

कांग्रेसको गत महाधिवेशनमा शेखरलाई हराएर शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए। एक महामन्त्रीमा शेखर प्यानलका गगन थापा निर्वाचित भएका थिए भने अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका थिए।



प्रतिक्रिया दिनुहोस्