काठमाडौं, भदौ २८ । ंविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का उपाध्यक्ष, संसदीय दलका उपनेता सुवास नेम्वाङको अन्त्येष्टि आज पशुपतिस्थित आर्यघाटमा हिन्दु र लिम्बू परम्परा अनुसार गरिने भएको छ ।
स्व. नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले अन्त्येष्टि हिन्दु र लिम्बू परम्परा अनुसार गरिने जानकारी दिए । नेम्वाङको सोमबार राति हृदयाघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । स्व. नेम्वाङका दुई छोरा विदेशमा रहेका कारण अन्त्येष्टिमा ढिलाइ भएको हो ।
मङ्गलबार बिहानदेखि एमाले मुख्यालय च्यासलमा राखिएको पार्थिव शरीरलाई बुधबार दिउँसो स्व. नेम्वाङको निवास बालुवाटार लगिएको थियो । उनको अहिले बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिनेछ ।
उनको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन एमालेले अनुरोध गरेको छ ।
शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट रहेकोे एमाले केन्द्रीय प्रचार तथा प्रसार विभागले जनाएको छ ।