Logo

सबैका कुरा सुन्ने सुवास नेम्वाङ



लक्ष्मणलाल कर्ण–
सुवास नेम्वाङजी सच्चरित्रवान्, असल र सहज व्यक्ति हुनुहुन्थ्यो । उहाँ धेरै विद्वान् हुनुहुन्थ्यो । कानुन र संविधानको ज्ञाता पनि भएकाले दुई दुईपटक संविधानसभाको अध्यक्ष हुनुभयो । संविधान निर्माणको क्रममा उहाँले बोलाएको बैठकमा सबै नेता पुग्थे । छलफल हुन्थे । सन्तुष्टि असन्तुष्टि आफ्नो ठाउँमा छ । संविधानसभाबाट संविधान बन्नुमा उहाँको धेरै योगदान छ । उहाँ सफल नेता हो । देशप्रति उहाँको ममता थियो । पार्टी र पार्टीका नेताप्रति सम्मान थियो ।
उहाँ सबैका कुरा सुन्नुहुन्थ्यो । संसद्को नियम निलम्बन नगरीकन जबर्जस्ती गर्दा म म उहाँको चेम्बरमा गएर भन्थें । उहाँसँग मेरो वकिल हुँदादेखिकै परिचय हो । उहाँ मलाई आदर गर्नुहुन्थ्यो । मैले उहाँलाई आदर गर्नु त स्वाभाविकै भइहाल्यो । बेलामौकामा उहाँ मलाई सहयोग गर्नुहुन्थ्यो, सुझाव दिनुहुन्थ्यो । उहाँसँग मेरो आत्मीय सम्बन्ध थियो । म मात्र होइन सम्पूर्ण पत्रकार, नेता, कार्यकर्तासँग सबैसँग उहाँको राम्रो सम्बन्ध थियो । उहाँमा राम्रो र असल गुण थियो ।
उहाँको नेतृत्वमा बनाएको संविधान कार्यान्वयनमा समस्या त छँदै छ । मधेसी र जनजातिमा धेरै किसिमका असन्तुष्टि छन् । धेरैको चित्त बुझेको छैन । तर यो संविधानसभाबाट बनेको हो । यसलाई अझै समृद्ध र धनी बनाउने हो भने बिस्तारै संशोधन गर्दै जानुपर्छ । जुन जुन देशमा संविधान संशोधन हुँदै गएको छ, त्यो संविधान समृद्धि हुँदै गएको छ । २०४७ सालको संविधान हामीले संशोधन गरेनौं, त्यसैले त्यो समाप्त भयो । संविधानमा जहाँ जहाँ अप्ठ्यारो छ, त्यसलाई संशोधन गर्दै जानुपर्छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री कर्णसँग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसलाई लिएको अन्तर्वार्तामा आधारित

 



प्रतिक्रिया दिनुहोस्

Screenshot