Logo

चिहानमा गाडिसकेको राजसंस्था फर्किँदैन, हिन्दु राष्ट्र पनि लिङ्देनको ठगीखाने भाँडो होः रामनारायण बिडारी



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं पूर्वराष्ट्रियसभा सदस्य रामनारायण बिडारीले नेपालमा राजसंस्था कहिले पनि नफर्किने बताएका छन् । राजसंस्था र हिन्दुराज्य राजावादीहरुको ठगी खाने भाँडोमात्रै भएको उनको टिप्पणी छ ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजसंस्था चिहानमा लगेर गाडेको प्रेतात्माहरुको आर्तनादमात्रै भएको बताएका हुन् ।

‘राप्रपाले दिवा सपना देखेको हो । राजसंस्था फर्काउने र हिन्दु राष्ट्र पुनर्स्थापना सम्भावना नै नभएको कुरा हो । चिहानमा लगेर गाडिसकेको प्रेतात्माहरुको आर्तनादको आवाज हो । यसबाट केही व्युँतिनेवाला छैन,’– उनले भने ।

कमल थापाको कुरा जनताले कहिल्यै नपत्याउने उनको भनाई छ । थापाले विभिन्न कालखण्डमा मन्त्री, गृहमन्त्री बन्दा गरेको व्यवहारले पनि जनताले नपत्याउने बताउँदै बिडारीले उनी अलपत्रे भएको टिप्पणी गरे । राजसंस्थाको पक्षमा पूर्वराजा ज्ञानेन्द्र नै नरहेको उनको दाबी छ ।

‘कमल थापाजस्तो अलपत्रेको कुरा पत्याएर हिँडेर पनि होला ? कमल थापा विषयवस्तुको पात्र हुन पनि लायक छैनन् । हिजो राजाको बारेमा के भनेको थियो ? पञ्चायत कालमा शासन सत्ता कसरी चलाएको थियो ? मरिचमानको शासनमा मन्त्री, गृहमन्त्री हुँदा के–के गरेको थियो ? यी सारा कुरा आउँदैनन् भन्या ? त्यस कारण यो वाईयत कुरा हो । अब राजसंस्था फर्किँदैन ज्ञानेन्द्रले नै चाहनु भएको छैन,’– उनले भने ।

हिन्दु राज्य र राजसंस्था लिङ्देनको ठगीखाने भाँडोमात्रै भएको उनको टिप्पणी छ । राज्यको कुनै एउटा धर्म नभएर राज्यले सबै धर्मको संरक्षण गरेर तटस्थ बस्नुपर्ने उनको भनाई छ ।

‘यो लिङ्देनजीको ठगीखाने भाँडो हो । उहाँले हिन्दु राष्ट्र नेपाल भन्नसक्ने परिस्थिति छैन । किनभने नेपाल धार्मिक स्वतन्त्रता भएको राष्ट्र हो । राज्य कुनै धर्मको हुँदैन । राज्य तटस्थ हुन्छ, सबै धर्मको संरक्षण गर्छ ।’ उनले भने, ‘आश, त्राश, भ्रम र जालमा पारेर धर्म परिवर्तन गराउन पाइँदैन । राष्ट्रको धर्म हुँदैन । केही राष्ट्रहरु छन् ती अपवाद हुन्, तिनीहरुले पनि विस्तारै छोड्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot