Logo

सुवास नेम्वाङप्रति एमाले सधैँ ऋणी रहनेछः सचिव भट्ट



काठमाडौं,२ असोज । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीका दिवंगत उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति पार्टी सदैंव ऋणी रहने बताएका छन् ।

स्वर्गीय नेम्वाङको स्मृतिमा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘सुवास र संविधान’ प्रवचन कार्यक्रममा भट्टले नेम्वाङकै कुशल नेतृत्वको कारण संविधान जारी भएको बताउँदै उनी नेपालका लागि महात्मा गान्धी भएको बताए ।

‘हामी युद्धमा थियौँ । शान्ति प्रक्रियामा थियौँ । एमालेको नेतृत्व थियो । अहिलेको नेतृत्व एमालेसँग छलफल बहस भएको थियो । समन्वकारी भूमिकामा सुवास नेम्वाङ नै हुनुहुन्थ्यो’ सचिव भट्टले भने। ‘राजनीतिक घटनाक्रम कतिबेला के हुन्छ, थाहा हुँदैन । ५ मिनेटसम्म बोल्नुपर्नेमा १७ मिनेट बोलेर उहाँले (नेम्वाङ ) रोक्नु भएन । जातीय राज्यले देशलाई समस्या ल्याउँछ भन्नुभएको थियो । कसैलाई पनि उत्तेजित गर्ने स्वभाव उहाँमा थिएन ’।

भट्टले नेम्वाङले लगाएको गुणप्रति एमाले सदैंव ऋणी रहने बताए । उनले भने ‘उहाँ नेपालका लागि महात्मा गान्धी हुनुहुन्थ्यो । नेपालको सन्दर्भमा, कार्यपालिका, न्यायपालिकाको भूमिका उहाँले जस्तो कसैले गरेका छैनन् । देशलाई ठूलो गुन लगाउनुभएको छ । उहाँप्रति कुनै गुनासो छैन । देशले राजनेता गुमाएको छ । उहाँप्रति पार्टी सधैँ ऋणी रहनेछ’ ।

७१ वर्षिय नेम्वाङको गत मंगलबार हृदयघातका कारण निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot