Logo

सडक सञ्जालले ग्रामीण जनजीवनमा सहजता



भोजपुर, ५ असोज । सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो ।

पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको टेम्केमैयुङ–५ मझौलेका ९८ वर्षीय स्थानीय वृद्ध बेनीबहादुर विष्टले बताए । आफू युवा हुँदा भोटबाट नुन, चामल, मट्टितेल २२ दिनसम्म ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था रहेकामा अहिले घरमा ट्रयाक्टरले सामग्री बोकेर ल्याउने गरेको उनले बताए। सडक विस्तारले नयाँ पुस्ताको दुःखका दिनको अन्त्य भएको उनको भनाइ छ ।

“हाम्रो पालामा गाउँमा सडक विस्तार होला, बस चढिएला भन्ने मलाई लागेको थिएन”, उनले भने, “भोटबाट २२ दिनसम्म पिठ्यूँमा बोकेर ल्याएर नुनतेल खान्थ्यौँ । त्यो समयमा धेरै दुःख थियो । अहिले घरको करेसामा बाटो छ । सडक विस्तारले हामीलाई सहज बनाएको छ ।” त्यो समयमामा धरान चतरामा समेत नुनतेल नपाउने भएकाले भोट पुग्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

सदरमुकामबाट जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटै स्थानीय तहमा कच्ची भए पनि सडक विस्तार भएपछि दैनिक आवतजावतसँगै खाद्य सामग्री ढुवानीमा सहज भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी टङ्कप्रसाद घिमिरेले बताए। सडक विस्तारपछि मानिसले ढाकर, डोको बोकेर हप्तौँ लगाएर सामग्री ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

“सडक विस्तारले ग्रामीण जीवनमा सहजता थपिएको छ”, उनले भने, “अहिले खाद्य सामग्री बोकेर हिँड्न पर्दैन । सहजरूपमा गाउँघरमा पाउने अवस्था छ । सडकका कारण यहाँका कृषि उपज बाह्य बजारमा जान थालेको अवस्था छ ।”

विशेष गरेर भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि भोजपुरको विकासले अग्रता लिएको हो । आजभन्दा करिब दश वर्ष अगाडि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन् । त्यसबेला भोजपुर खण्डमा कच्ची बाटोको ट्रयाक खोलिएको थियो । धनकुटामा सडक विस्तार भएको ३० वर्षपछि भोजपुरमा सडक विस्तार थालिएको स्थानीय जानकार गणेश श्रेष्ठले बताए । यहाँ २०५६ सालबाट सडक खन्न सुरु भएको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार तत्कालीन ग्रामीण सडक परियोजना (र्याप) अन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्रयाक खोलिएको उनले बताए । विसं २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकोप्टरले बोकेर पहिलोपटक टुँडिखेलमा महेन्द्र जीप ओरालेको उनले जानकारी दिए ।

“भोजपुरमा सडक विस्तार भएको धेरै लामो समयमा भएको छैन”, श्रेष्ठले भने, “छिमेकी जिल्ला धनकुटामा कालोपत्र सडक बनेको ३० वर्षपछि भोजपुरमा सडक विस्तार थालिएको हो । तर अहिले भोजपुरका सबै क्षेत्रमा सडक विस्तार भएको छ । सडकले दैनिकीमा समेत परिवर्तन ल्याएको छ ।”

एसियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडक जिल्लामा कालोपत्र भएको पहिलो सडक पनि हो । भोजपुरको लेगुवा, धनकुटा हुँदै धरान जोड्ने यो सडकको कुल लम्बाइ करिब एक सय ५४ किलोमिटर छ । अहिले सुविधायुक्त बस भोजपुरबाट दैनिक काठमाडौँ, विराटनगर, धरानलगायत सहरका लागि छुट्ने गरेका छन् ।

यो सडक विस्तारपछि भोजपुरमा विकासले फड्को मारेको हो । भोजपुरलाई काठमाडौँसम्मको छोटो दूरीमा जोड्ने देउराली चोक–चखेवा भञ्ज्याङ ४२ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । यो सडकले पनि स्थानीयमा सहजता थपिएको छ । जिल्लामा पछिल्लो समयमा सडक विस्तारले तीव्रता पाएको छ । सडकका कारण यहाँ उत्पादन भएको कृषि उपज देशका ठूला सहरमा पुग्न थालेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot