Logo

गठबन्धन सरकारको नेतृत्व फेर्नुपर्छ : कांग्रेस नेता डा. पोखरेल



काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार असफल भइसकेको बताएका छन् ।

यो सरकार बनेपछि एकाध केही आयोजना अघि बढे होलान् । तर समग्रमा सरकारको पफर्मेन्स देखिएको छैन । अब यो सरकारलाई राखेर काम छैन । मुलुकमा सरकार नै नभएको स्थिति छ । कांग्रेसकै सहमहामन्त्रीमाथि दिनदहाडै आक्रमण भएको छ । जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिँदा सरकारले रोक्ने होइन, उत्तेजना थप्ने काम गरेको छ । भोलि द्वन्द्व बढ्यो भने यो सरकारले थाम्न सक्दैन, नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग डा. पोखरेलले भने, भुइँमान्छेले अर्थतन्त्रमा सुधार आएको अनुभव गरेको छैन । सरकारको सुशासनको डम्फु पनि असफल भयो । कांग्रेस र एमालेका एकएक नेतालाई थुनेर राख्यो । तर माओवादीको नेताको नाम आउनासाथ काखापाखा भयो । यो सरकारले निकास दिँदैन । त्यसैले सरकारको नेतृत्व फेर्नुपर्छ ।

साथै उनले अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन नसकेको र महँगी नियन्त्रण गर्न पनि नसकेको आरोप लगाए । डा. पोखरेलले भने, मन्त्री हुनु भनेको पुरस्कार होइन । मन्त्री हुनु नै उपलब्धि होइन । मन्त्री हुनु भनेको राजाको छोरा राजा भइदियाजस्तो त होइन नि । अर्थमन्त्री हुँदै गर्दा मौद्रिक नीतिले गर्दा अर्थतन्त्रमा सुधार भएन भन्नुहुन्छ, समन्वय गर्नुपर् यो नि त । अप्ठ्यारो सुल्झाउन पो मन्त्री बनाएर पठाएको हो त ?

प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा बीआरआई परियोजना अन्तर्गत अनुदान सम्झौता मात्र गर्न सक्ने उनले औंल्याए । डा. पोखरेलले भने, विश्व बैंक, एडीबीबाट हामीले सस्तोमा ऋण पाएका छौं । त्यसैगरी बीआरआईबाट हाम्रा प्राथमिकताका पूर्वाधारमा सहुलियतपूर्ण ऋण वा अनुदानमा लिँदा हुन्छ । तर महँगो ब्याजमा ऋण लिँदा हामी समस्यामा पर्न सक्छौं । नेपाललाई आवश्यक नभएका र नेपालले अघि बढाउन नसक्ने आयोजनाका लागि नेपालीमाथि ऋण थोपर्नु जरुरी छैन ।

चीनले नेपाललाई आर्थिक सहयोग गर्दागर्दै पनि आन्तरिक राजनीतिमा माइक्रो म्यानेजमेन्ट गर्ने गरेकाले नेपाल र चीन सम्बन्ध पनि विवादित बनेको डा. पोखरेलले औंल्याए । उदाउँदो अर्थतन्त्र भएका दुई ठूला छिमेकी मुलुकसँग मिलेर नै अगाडि जानुपर्ने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot