Logo

‘हाम्रा मन्त्रीले राम्रो काम गरेको भनेर भाषण गर्न पाइनँ’



काठमाडौं,७ असोज । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेलले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गर्न नसकेको बताएका छन् ।

तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै केन्द्रीय सदस्यसमेत रहेका पौडेलले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम नगर्दा मन्त्रीलेृ गरेको कामलाई प्रचार गर्न नपाएको गुनासो गरेका हुन् । पौडेलले काम केहीपनि नगर्ने भए वर्तमान गठबन्धन जोगाउनु मात्रै ठूलो उपलब्धी नभएको बताए ।

‘हाम्रा कुनै पनि साथी (मन्त्री) ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ,’ उनले भने, ‘सरकारमा बस्नु मात्र उपलब्धि होइन।’

उनले देशमा लगानीको वातावरण सिर्जना गरिनुपर्ने बताए। संसारभरबाट दुबईमा लगानी ओइरिएको चर्चा गर्दै उनले लगानी वातावरण नेपालमा पनि सिर्जना गरी रोजगारीको दिइनुपर्ने बताए।

मंसिरमा हुने कांग्रेसको नीति अधिवेशनले आशाको सञ्चार गर्नुपर्ने उनले बताए। ‘१६ औं पञ्चवर्षीय योजना कस्तो हुनुपर्छ हामीले त्यसबारे छलफल गर्नुपर्छ,’ उनले भने, ‘युवा विदेशिएको, परराष्ट्र नीति शिथिल भएको, आर्थिक अवस्था डामाडोल रहेको, बैंकमा पैसा भए पनि बजारमा नआएकोमा छलफल गरी दृष्टिकोण निर्माण गर्नुपर्छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot