Logo

कोसोभोमा एक जना प्रहरी अधिकृतको हत्या



प्रिस्टिना, ७ असोज । कोसोभोमा एक जना प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सिमाना नजिक आपराधिक समूहले आक्रमण गर्दा ती प्रहरी अधिकृतको मृत्यु भएको हो । सडकमा अवरोध सृजना गरेर बसेका आक्रमणकारीको समूहले प्रहरीलाई देख्नेबित्तिकै ग्रिनेडलगायत विष्फोटक पदार्थसँगै गोली वर्षाएको प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ ।

कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीले आक्रमणको निन्दा गर्दै त्यसलाई आतङ्कवादी कार्य भनेका छन् । विभिन्न प्रकारका स्वचालित हतियार बोकेका आक्रमाणकारीले गरेको जघन्य हत्याको उनले भत्र्सना गर्दै आतङ्कवादी गतिविधिमा बेलग्रेडको हात रहेको आरोप लगाएका छन् । बेलग्रेडका अधिकारीहरूको राजनैतिक एवं आर्थिक सहयोगमा आफ्नो देशमा सङ्गठित आपराधिक समूहले आक्रमण गरिरहेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सर्बिया र कासोभोबीचको सम्बन्ध सुधारका निम्ति युरोपेली सङ्घको मध्यस्थता ब्रसेल्समा दुवै देशका नेताबीच भएको वार्ता असफल भएका एक सातापछि यो घटना भएको हो ।

दुई दशकभन्दा बढी समयदेखि बिग्रिएको बाल्कन क्षेत्रका यी दुई छिमेकीबीचको सम्बन्ध सुमधुर तुल्याउन तथा जारी विवाद समाधानको प्रयास युरोपेली सङ्घले गर्दै आएको छ । ब्रसेल्स वार्ता परिणामविहीन भएपछि द्विपक्षीय कूटनीतिक गतिरोध पनि कायम नै छ ।

प्रिस्टिनाले गत मे महिनामा चार सर्बहरूको बाहुल्य रहेका चार नगरपालिका प्रमुखमा जातीय अल्बेनियालीलाई स्थापना गर्ने निर्णय गरेपछि आपसी द्वन्द्व चर्किएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot