Logo

एमाले बागमती प्रदेश अधिवेशनः बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल गठन



काठमाडौँ,९ असोज । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र सुरु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सभा गृहमा उद्घाटन गरेको अधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल सकेर पारित गरेसँगै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुनेछ ।

अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बास्कोटा, कमल चौलागाई,रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ ,अरुण नेपाल र रत्ना गुरुङ सदस्य रहेका छन् ।

नेतृत्वका लागि ढुंगेल र दाहालको कसरत

आज सम्पन्न हुने अधिवेशनमार्फत प्रदेशको नेतृत्व लिन आधा दर्जन नेताहरुले आकाँक्षा राखेका छन् । केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालसँगै बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, रचना खड्का र कृष्णभक्त पोखरेलले प्रदेश अध्यक्षमा दाबी गर्दै आएका छन् । अध्यक्षमा दाबी गर्नेको संख्या धेरै भएपनि मुख्यगरि रामेछापका ढुंगेल र मकवानपुरका दाहालबीच नेतृत्व लिन रस्साकस्सी चलिरहेको छ ।

अधिवेशनको उद्धघाटन गर्दै अध्यक्ष ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न र नभए लोकतान्त्रिक पद्धतिबाट कमिटी चयन गर्न निर्देशन दिएका छन् । ओलीले दिएको निर्देशनबमोजिम नेताहरुले सहमतिको अधिकतम प्रयास गरिरहेका छन् । सहमतिबाट नेतृत्व चयनको प्रयास लगभग असफल भएपछि चुनावमार्फतनै नेतृत्व चयनको संभावना बढ्दै गएको एक नेताले जानकारी दिए । उनका अनुसार प्यानल बनाएर उम्मेदवारी दिन नपाईने भएकाले आकाँक्षीहरुले एकल रुपमा मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot