Logo

महिन्द्र राय यादव माओवादीमा जाने तयारीमा, बाबुराम तनावमा !



काठमाडौं, ११ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवबीच खटपट सुरू भएको छ । खासगरी माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई लिएर दुई नेताबीच मनमुटाव सुरु भएको बुझिएको छ । यादव गत वर्ष मंसिरमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर सर्लाही–२ बाट निर्वाचित भएका हुन् ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाईमन्त्री छन् । नेसपा र नेकपा (माओवादी केन्द्र) बीच चुनावअघि नै एकताको लागि गृहकार्य भएको थियो । तर, पार्टीको नाम फेर्ने विषयमा सहमति नभएपछि एकता प्रक्रिया रोकिएको थियो । पछिल्लो समय समाजवादी मोर्चा गठन भएपछि बाबुराम प्रचण्डसँग रुष्ट छन् । तर, यादव भने प्रचण्डसँग नियमित सम्पर्कमा छन् ।

अध्यक्ष बाबुराम भारत भ्रमणमा गएको बेलामा माओवादीले अर्का अध्यक्ष यादवको नाममा एकताको लागि पत्राचार गरेपछि नेसपामा हल्लीचल्ली मच्चिएको थियो । प्रचण्डले आफू देश बाहिर रहेको बेलामा यादवलाई प्रयोग गरेर पार्टीभित्र खेल्न खोजेको टिप्पणी गरेका थिए ।

यादवले भने एउटा अध्यक्ष देशबाहिर रहेको अवस्थामा आफूलाई माओवादीले एकताको लागि पत्राचार गरेकोले यसलाई अन्यथा लिन नहुने प्रतिक्रिया दिएका थिए । विश्वस्त्र सूत्रकाअनुसार यादव चाँडै नै माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । उनले आफूनिकट नेता तथा कार्यकर्ताहरुलाई त्यहीअनुसार तयारी गर्न भनेका छन् । यतिवेला मन्त्री यादव प्रधानमन्त्री दाहालसँगै चीन भ्रमणमा छन् ।

चीनबाट फर्किएलगत्तै यादव माओवादीमा प्रवेश गर्नसक्ने नेसपाकै कतिपय नेताहरुको भनाई छ । उता, नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठसँग पनि माओवादी केन्द्रका नेताहरुको पार्टी एकतालक्षित भेटवार्ता बाक्लिएको छ । नेसपामा अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठले नै माओवादीसँगको एकतामा ढिलाई गर्न नहुने दबाब दिँदै आएका छन् ।

श्रेष्ठ पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट सिन्धुलीबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । उनी यतिवेला बाग्मती प्रदेशको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारीमा छन् । बाबुराम भारत भ्रमण सकाएर स्वदेश फर्किएका छन् । उनी कुनैपनि हालतमा माओवादीसँग गर्ने पक्षमा छैनन् ।

बरु, महिन्द्र राय यादव माओवादीमा जाने तयारी गरेकोमा भने रुष्ट छन् । बाबुरामले प्रधानमन्त्री दाहालको चीन भ्रम्णलाई लिएर पनि आलोचना गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot