Logo

भारतसँग नेपाल २३ रनले पराजित



काठमाडौं,१६ असोज । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ ।

भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निधारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए। कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए। कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके। सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए।

बलिङतर्फ भारतका रवि विस्नोई र आभेस खानले समान ३ ३ र अर्सदिप सिंहले २ विकेट लिए।

नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। ७६-२ को अवस्थामा नेपालले एक रनको अन्तरमा दुई विकेट गुमाएको थियो। नेपालले खेलमा १४ छक्का र ११ चौका प्रहार गरेको थियो।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए।

रुतुराज गाइक्वाडले २५ रन बनाए। रिंकु सिंहले १५ बलमा ३७ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। भारतले अन्तिम दुई ओभरमा मात्र ३९ रन जोड्यो।

अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिएका थिए। अविनाशले ४ ओभरमा ५३ रन दिए। सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए। भारतसँग पराजित भएसँगे एसियाडको क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot