Logo

प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्नुपर्ने शेखरको भनाई, एमालेसँग सहकार्य नगर्ने मुडमा देउवा



काठमाडौं, २१ असोज । नेपाली कांग्रेसभित्र वर्तमान सरकारको आलोचना र बचाउमा दुई समूहका शीर्ष नेताहरु नै सक्रिय भएका छन् । खासगरी शेखर कोइरालाले वर्तमान सरकारले सुशासन र समृद्धि दिन नसक्ने बरु समाजमा अराजकता हाबी भएको निश्कर्ष निकाल्दै सरकारको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् ।

तर, सभापति शेरबहादुर देउवाले भने अहिले सरकारको विकल्प खोज्ने बेला नभएको अडान लिएका छन् । सभापति देउवा र नेता कोइरालाबीच प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्ने विषयमा मतान्तर छ । शेखरले भने एमालेसँग सहकार्य गर्नेगरि आफूलाई मुभ गराएको कांग्रेसनिकट स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहाल चीन भ्रमणबाट फर्किएलगत्तै शेखरले प्रधानमन्त्रीविरुद्ध आक्रामक अभिव्यक्ति दिने गरेका छन् । उनले चितवनमा नै पुगेर प्रधानमन्त्री दाहाललाई सच्चिन वा छोड्न तयार हुन चेतावनी दिएका छन् । प्रधानमन्त्री दाहालले कोशी प्रदेशमा माओवादीलाई बहुमत दिईए जातीय राज्य दिने अभिव्यक्ति दिएको भन्दै शेखर रुष्ट बनेका हुन् । यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि समान धारणा छ ।

ओलीले त आफूमाथि पहिचानवादीहरुलाई प्रयोग गरेर माओवादी नेतृत्वले आक्रमणको प्रयास गरेको पनि आरोप लगाएका छन् । शेखरले कांग्रेसमा संसदीय दलको नेताको लागि आफूलाई तयार गरेको र देउवाको विकल्प खोज्नेगरि मुभ गरेको भन्ने कुरा चर्चामा छन् । खासगरी शेखरले देउवानिकट नेता बालकृष्ण खाँणलाई जेलमै पुगेर गरेको बारम्बारको भेटवार्तालाई लिएर यस्तो चर्चा हुने गरेको हो । यसअघि दलको नेतामा आफूले गगनलाई सघाएकोले यसपटक दलको नेतामा देउवाको विकल्प खोज्दा गगनले आफूलाई सघाउनुपर्ने उनको अडान छ ।

तर, पछिल्लो समय शेखर र गगनबीच पनि सम्बन्ध चिसिएको छ । शेखरनिकट सांसद सुनिल शर्माले नै एमालेसँग सहकार्य गर्नुपर्ने भन्दै त्यहीअनुसार छलफल अघि बढाएका छन् । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सिआईबीले पक्राउ गर्दा एमाले अध्यक्ष ओलीले उनको बचाउ गरेका थिए । पछि उनी अदालतको आदेशबाट रिहा भएको भोलिपल्टै ओलीलाई भेट्न बालकोट पुगेका थिए । एमाले प्रचण्ड नेतृत्वको सरकार ढाल्न चाहन्छ ।

ओलीले पनि पछिल्ला कार्यक्रममा सार्वजनिक रुपमै जतिसक्दो प्रचण्ड नेतृत्वको सरकार ढाल्नुपर्ने र देशलाई निकास दिनुपर्ने आवाज उठाउन थालेका छन् । उनले सरकार ढाल्नको लागि कांग्रेस तयार नभएको भन्दै सभापति देउवाको पनि आलोचना गर्ने गरेका छन् । उनले कांग्रेसको बुँई चढेर माओवादीले देशमा अराजकता प्रदर्शन गरिरहेको भन्दै कडा आलोचना गर्ने गरेका छन् । तर, देउवा भने वर्तमान सरकारको विकल्प खोज्न नहुने पक्षमा छन् ।

उनले आफूनिकट नेताहरुसँग ओलीसँग सहकार्य गर्न नसकिने भन्दै अहिले प्रचण्डको विकल्प खोज्नु भनेको पार्टीलाई घाटा हुनु हो भन्ने गरेका छन् । तर, शेखर भने कुनैपनि हालतमा प्रचण्डको विकल्प खोज्नुपर्ने र पार्टीले नै विकल्प दिनुपर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्