Logo

इजरायलमा भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग झलनाथको माग



काठमाडौं,२२ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इजरायलमा भएको बिद्रोही समूह हमासको आक्रमण र त्यसपछि भएको क्षतिको बारेमा सत्यतथ्य सार्वजनिक गर्न सरकरासमक्ष माग गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको लगायतका विषयमा सरकारले प्रष्ट पार्नुपर्ने माग गरेका छन् । आज उनले एक विज्ञप्ति जारी गर्दै खनालले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन् ।

खनालले विज्ञप्तिमा भनेका छन् ‘साथै, नेपाल सरकार र इजरायल स्थित नेपाली दूतावासलाई घटनाको यथाशीघ्र सत्यतथ्य जानकारी उपलब्ध गराउन पनि आग्रह गर्दछु । इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षाको निम्ति इजरायल सरकारसँग जोडदार माग गर्दै मृतकका शवलाई अविलम्ब नेपाल पठाउन, इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षा गर्न सबै प्रकारका कूटनीतिक पहलकदमी लिन नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासको गम्भीर ध्यानाकर्षण गराउँदछु’ ।

इजरायलमा शनिबार बिहान हमासले गरेको आक्रमणमा परि १० जना नेपालीको मृत्यु भएको र केही अझै हताहती भएको आशंका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्