काठमाडौं,२२ असोज । गत शनिबार इजरायलमा रहेको प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणप्रति राष्ट्रपति रामचन्द्र पौडेलले चासो व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले उक्त घटनामा परेर निधन भएका नेपाली विद्यार्थीप्रति श्रद्धान्जली व्यक्त गरेको शीतल निवासले जनाएको छ ।
आज राष्ट्रपति कार्यालय शीतल निवासले उक्त घटनाबारेमा छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको पनि शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपति पौडेलले मृतकका परिवारप्रति सहानुभूती प्रकट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यसैगरी उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेको शीतल निवासले जनाएको छ ।