काठमाडौं,२३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन कुराकानी गरेका छन् । मंगलबार दिउँसो समकक्षी कोहेनसँग साउदले टेलिफोनमा कुराकानी गरेका हुन् ।
कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए । परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरे ।
मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चारजना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे । आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरे ।
मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे ।
बंकरमा बसेका केही नागरिकहरुले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी गराए ।
मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताए ।
कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद् घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्ध रहेको पनि बताए ।
इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेकोप्रति समवेदना व्यक्त गरे । उनले घाइते नेपाली नागरिकको स्वास्थ्यलाभको कामना गर्दै इजरायल अहिले कठिन मोडमा रहेको पनि बताए ।
मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिए ।