Logo

कोशी कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, शेखर समूहको विद्रोहबारे निर्णय हुने



काठमाडौं,२६ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा केन्द्रीय गठबन्धनको निर्णयलाई चुनौती दिँदै कांग्रेस सांसद केदार कार्कीले नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि आवश्यक निर्णय लिन कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो १२ बजे बस्नेगरि बोलाईएको हो । बिहीबार नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीमा राजनैतिक बिद्रोह गर्दै केदार कार्कीलाई उम्मेदवार उठाएका थिए ।

पार्टी र सत्ता गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका ९ प्रदेशसभा सदस्य मिलेर केदारलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । संविधानको धारा १६८ को उपधारा ५ मा दलको कुनैपनि ह्विप नलाग्ने हुँदा सांसदहरुले स्वंबिवेक प्रयोग गरेको केदार पक्षको भनाई छ ।

केदारलाई मुख्यमन्त्री बनाउने कामको नेतृत्व गरेका डा शेखर कोइरालालाई केदार कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राई, र उदयपुरकै हिमाल कार्कीले साथ दिएका छन् ।

बिहीबार कांग्रेसको शेखर समूहका ९ सहित नेकपा एमालेका ३९ सांसदगरी ४८ सांसदको समर्थनमा केदारले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको शेखर पक्षले विरोध जनाउँदै आएको थियो। विरोधको सुनुवाई नभएपछि शेखरले विद्रोह गर्दै आफ्नै उम्मेदवार उठाएका हुन् । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot