Logo

शेरबहादुर देउवा, प्रचण्ड र शेखर कोइरालाको सहमतिमै केदार कार्की मुख्यमन्त्री बन्नुहुन्छ : खतिवडा



काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कोसी प्रदेशको मुख्यमन्त्री जो बने पनि गठबन्धनकै हुने बताएका छन् ।
‘कोसीको राजनीति फरक ढंगले गयो । हामीले एक वर्षभित्र संविधानका धेरै धाराको प्रयोग गर् यौं । सबै खालका सरकार हेरिसक्यौं । अब बहुमत, दुई वा दुई दलको सरकार र ठूलो दलको सरकार बन्ने सम्भावना नभएपछि यो दलको ह्वीप नलाग्ने सरकार हो । अहिले दुवै जना गठबन्धनकै उम्मेदवार हुनुहुन्छ । जसले सजिलै बहुमत पुर् याउन सक्छ, उही मुख्यमन्त्री हुन्छ । यसले गठबन्धनलाई कुनै असर गर्दैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता खतिवडाले पार्टीको कार्यसम्पादन र पदाधिकारीको बैठक बसेर गठबन्धन र पार्टीका साथीहरुलाई चित्तबुझ्ने गरी निर्णय हुने विश्वास पनि व्यक्त गरे । उनले भने, ‘केदार कार्की शेखरको मात्र होइन, नेपाली कांग्रेसकै सांसद हो । संविधानतः जसले बहुमत पुर् याउँछ, उसले नै मुख्यमन्त्री पाउँछ । शेरबहादुरजी, प्रचण्ड, शेखर कोइरालाको सहमतिमा कोसी प्रदेशको मुख्यमन्त्री बन्नुहुन्छ ।’ उनले कांग्रेसमा शेखर कोइराला नपेलिएको र शेरबहादुर देउवाले नपेलेको दाबी पनि गरे ।
मुख्यमन्त्री बनेपछि कार्की नेकपा एमालेको रोडम्यापमा नहिँड्ने दाबी पनि खतिवडाले गरे । उनले भने, ‘एमालेले समर्थन गर्छु भन्दा हामीले भाग भाग भन्नुहुँदैन । एमालेले समर्थन गर्न सक्छ, माया गर्न सक्छ, सरकारमै सहभागी हुन पनि सक्छ । केदार कार्की पनि एमालेको रोडम्यापमा चल्नुहुन्न । अहिले गठबन्धन तोडिँदैन । अर्को सपना नदेखे हुन्छ ।’ गठबन्धन जुटेर नै कोसीको समस्या पार हुने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्