Logo

केएमसीमा अप्रेसनको भोलिपल्ट नै बिरामी हिँडडुल गर्नसक्ने एमआईएस सर्जरी



काठमाडौं, असोज ३० । मेरुदण्डको तल्लो भागको हड्डी भाँचिएर काठमाडौं मेडिकल कलेज शिक्षण (केएमसी) अस्पतालमा भर्ना भएकी एक महिला (नाम गोप्य) को मिनिमल इनभेसिभ स्पाइन सर्जरी (एमआईएसएस) प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ ।

केएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरुले मेरुदण्डको भाच्चिएको हड्डीलाई सिधा बनाउन अत्याधुनिक एमआईएसएस प्रविधिबाट इमेज डाइरेक्सन अनुसार मेरुदण्डको भाच्चिएको हड्डीलाई सिधा बनाएका हुन् ।

‘उनको भाच्चिएको मेरुदण्डमा इमेज डाइरेक्सन मार्फत पेचहरु राखिएको छ । यसका लागि उनको ढाडमा ससाना प्वालहरु बनाएर मेरुदण्डमा पेचहरु पुर्याएका थियो। इमेज डाइरेक्सनबाट कुन ठाउँको अप्रेसन गर्नुपर्ने हो त्यहीँ पुग्न सकिने भएकाले उनको अप्रेसन पूर्णरुपमा सफल भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । विमारीको ढाढलाई पुरानै अवस्थामा फर्काउन सफल भएसँगै यो प्रविधिले चिरेर गरिने ठूल्ठूला अप्रेसनहरुलाई विस्थापित नै गरिदिएको केएमसी न्यूरोसर्जरी विभागका विभागीय प्रमुख समेत रहेका प्रा.डा. अमित थापाले बताए ।

एमआईएसएस प्रविधिले खासगरी नसा तथा मेरुदण्डका बिरामीलाई ठूलो राहत मिलेको उनको भनाई छ । उनले भने, ‘परम्परागत शल्यक्रियामा ढाडमा ठूलाठूला घाउ बनाएर मेरुदण्डको उपचार गरिन्थ्यो । यो प्रविधि केएमसीले भित्र्याएसँगै बिरामीको शरीरमा ठूलो घाउ बनाउनु पर्ने, चिरेको घाउ ठिक हुन महिनौं लाग्ने, अत्याधिक पिडासँगै लामो समयसम्म अस्पतालमा बेड रेस्ट समेत गर्नुपर्ने बाध्यता हटेको छ ।’

यस्तै, यो प्रविधि भित्रिएसँगै नसा तथा मेरुदण्ड र ढाडको समस्या भएकाहरुको जटिल उपचारमा ठूलो सफलता मिल्दै गएको उनले बताए । ‘न्यूनतम क्षतीको कारण अप्रेसन पश्चात भोलिपल्ट नै बिरामी हिँडडुल गर्न सक्षम हुन्छ र ठूलो घाउ नभएको हुँदा दुखाइ पनि कम हुन्छ ।’ प्रा.डा. थापाको दाबी छ ।

एमआईएस अप्रेसन काठमाडौं मेडिकल कलेजको न्यूरोसर्जरी विभागमा प्रदान गरिने अत्याधुनिक सर्जिकल प्रविधि हो जसले चाँड़ो निको हुने मात्र नभई राम्रो नतिजासहित प्रभावकारी अप्रेसन गर्न पनि सहयोग गर्दछ । काठमाडौं मेडिकल कलेजको न्यूरोसर्जरी विभागले स्वास्थ्य क्षेत्रमा नविनतम उपचार प्रविधिहरु भित्र्याएर सर्वसुलभ शुल्कमा विस्वस्तरीय स्वास्थ्य उपचारहरु नेपालमै गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

केएमसीले एमआईएस र एन्डोस्कोपिक स्पाइन सर्जरीको साथै आगामी दिनमा मेरुदण्डको शल्यक्रियामा ‘डे केयर’ सेवाहरू प्रदान गर्ने योजना बनाएको जनरल मेनेजर दाहालले बताए । ‘डे केयर’ सेवाहरु थालनी गरेसँगै शल्यक्रिया गरेकै दिन बिरामीहरु घर जानसक्ने छन् ।

अस्पतालकोे स्वास्थ्य सेवालाई आधुनिकीकरण गर्नमा तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डाक्टर सुनिलकुमार शर्माको महत्वपूर्ण भूमिका छ । हाल प्रतिनिधि सभा सदस्य रहेका डा। शर्माले सर्वसुलभ शुल्कमा विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अनुसार अस्पतालको सेवाहरु सुधार्न आधुनिक चिकित्सा क्षेत्रका नविनतम उपकरण र सेवाहरु थप गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot