Logo

यस्तो छ खसी, बोका र च्यांग्राको सरकारी मूल्य (तस्बिरहरू)



काठमाडौं, कार्तिक १ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ। कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसी, बोका र च्यांग्रा बेच्न थालेको हो।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी–बोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ५० रुपैयाँमा बिक्री भइरहेको छ। यसपटक कम्पनीले प्रतिकिलो १० रुपैयाँ छुट दिएको जनाएको छ ।

कम्पनीका अनुसार खसी–बोका मकवानपुर, दाङ र कैलालीबाट तथा च्यांग्रा रसुवाबाट सोमबार काठमाडौँ ल्याइएको हो। यस वर्षको दसैँमा कम्पनीले दुई हजार खसी बोका र एक हजार च्यांग्रा बिक्री गर्ने तयारी गरेको छ।

असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६८० र च्यांग्राको मूल्य प्रतिकेजी एक हजार २६० रुपैयाँ निर्धारण गरेको थियो । गतवर्ष कम्पनीले एक हजार ४६३ खसी, बोका र १६२ वटा च्याङ्ग्रा ल्याएको थियो । कम्पनीले खसी–बोका प्रतिकेजी ६८० (जिउँदो) र च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपियाँमा बेचेको थियो ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot