काठमाडौं, १ कार्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । आज (बुधवार) पार्टीको काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दसैँको अवसरमा आयोजित शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै शर्माले यस्तो आवश्यकत्ता औंल्याएका हुन् ।
उनले सरकारको नेतृत्वमा अहिलेदेखि नै भागबण्डा गर्दा कामको गतिमा प्रभाव नदेखिएको बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता शर्माले भने,‘पार्टीहरूको बिचमा प्रतिस्पर्धाको चुनाव हुन्छ । पूर्ण समानुपातिक भयो भने झन् राम्रो भयो । त्यो चुनावबाट आइसकेपछि आज देशलाई राष्ट्रिय सहमतिको खाँचो छ । राष्ट्रिय सहमति गरेर जानुपर्छ । यदि राष्ट्रिय सहमति गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने? कति महिना चल्ने ? भन्ने प्रश्न । दुई वर्ष एउटालाई भाग । एक वर्ष एउटालाई भाग । दुई वर्ष अर्कालाई भाग । भाग लाउँदा लाउँदै सरकारको पनि गति नआउने । प्रतिपक्ष र सत्तापक्षले एकले अर्कोलाई सत्तोसराप गाली गर्ने । एकले अर्कालाई दमन गर्ने, एकले अर्कालाई गालि गर्ने कुरा भएको छ । यो कुराको अन्त्य गरेर राष्ट्रिय सहमतिका आधारमा मन्त्रिमण्डल बनाउने । राष्ट्रिय सहमतिमा मन्त्रिमण्डल बनाएर सबै पार्टीलाई समेट्ने ।’
शर्माले अघि भने,‘सबै पार्टीहरूलाई समेटेर सरकारमा रहेका मन्त्रिहरुको बिचमा प्रतिस्पर्धा । भ्रष्टाचारका विरुद्धमा को अब्बल हुने भन्ने प्रतिस्पर्धा । रोजगारी सृष्टि गर्नेमा सबभन्दा अघि को बन्ने भन्ने प्रतिस्पर्धा । उत्पादन वृद्धिमा को अगाडी बढ्ने भन्ने प्रतिस्पर्धा । गुणस्तरीय काम कसले गर्ने, जनतालाई सेवा प्रवाह कसले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा गरेर सरकार सञ्चालन गरेर १० वर्षलाई हामी यसरी जानसक्यौँ भने हाम्रो देश समृद्ध हुन्छ । सहमति नगरी हुँदैन । सहमति गरेर मात्रै ठुलो ठुलो परियोजना बनाउन सक्छौँ । त्यसो गरे देशलाई समृद्ध गर्न सक्छौँ र जनताको असन्तुष्टिलाई पनि सम्बोधन गर्न सक्छौँ ।’