काठमाडौं,२ कार्तिक । राप्रपाले कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दलको नेतामा दाबी गरेको छ । मुख्यमन्त्री केदार कार्कीलाई अन्य सबै दलले विश्वासको मत दिएपछि राप्रपाले प्रतिपक्षी दलको नेतामा दाबी गरेको हो ।
बिहीबार प्रदेश सभा सचिवालयमा राप्रपा प्रदेश संसदीय दलका नेता भक्तप्रसाद सिटौलाले प्रतिपक्षी दलको नेता दाबी गर्दै निवेदन दिएका हुन् । बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदा राप्रपाका ६ सांसदले मात्रै विपक्षमा मत दिएका थिए ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार प्रमुख प्रतिपक्षी दलका नेताले सुविधाको गाडी र सुरक्षा गार्डका साथै प्रमुख सचेतकले पनि सुविधाको गाडी पाउने व्यवस्था छ ।