काठमाडौं, ४ कार्तिक । सरकारले क्यानडाका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको नाम सिफारिश गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राजदूतको रुपमा सिफारिश गरेको हो ।
उनलाई मन्त्रिसरहको मर्यादासहित क्यानडाको राजदूतमा सिफारिश गरिएको बुझिएको छ । क्यानडा अहिले राजदूतविहीन छ । यसअघिका राजदूत भृगु ढुंगाना आफ्नो कार्यकाल सकाएर नेपाल फर्किएको पनि लामो समय भैसकेको छ ।
पौडेलले सन् २०१२ देखि २०१६ सम्म पाकिस्तानको राजदूतको जिम्मेवारी पनि सम्हालिसकेका छन् । त्यही बेला उनी अफ्गानिस्तान, इरान, इराक र टर्कीको पनि गैरआवासीय राजदूतको जिम्मेवारीमा थिए । तोत्रा आचार्यसँग विवाह गरेका पौडेलका पल्लभी र आशुतोष दुई सन्तान छन् ।