Logo

स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ: कप्तान रोहित



काठमाडौं,१२ कार्तिक । भोलिबाट नेपालमा सुरु हुने टी-२० विश्वकप छनोटको सम्पूर्ण तयारी पूरा भएको छ । अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकले संयुक्तरुपमा आयोजना गर्न लागेको उक्त प्रतियोगीताका लागि एसिया क्षेत्रका खेलहरु भोलिबाट नेपालमा हुँदैछ ।

छनोट खेलको पूर्वसन्ध्यामा त्रिवि क्रिकेट मैदानमा गरिएको पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ क्यानले खेलको सबै तयारी पूरा भएको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिममा पूर्व कप्तान सन्दीप लामिछानेको पुनरागमनले टिमलाई ब्यालेन्स गरेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले भने, ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’

विगत एक वर्षदेखि एक नाबालिग बलात्कारको मुद्दा खेपिरहेका लामिछानेले केहि दिनअघि आफ्नो मुद्दा टुंगोमा नपुग्दासम्म राष्ट्रिय टिमाबाट अलग हुने घोषणा गरेका थिए । तर, विभिन्न व्यक्ति तथा क्यानको पहलमा उनले एसिया क्षेत्रको छनोट खेल्न तयार भएको क्यान स्रोतले जनाएको छ । लामिछानेसँग टिममा विकेट किपर विनाद भण्डारीलेसमेत पुनरागमन गरेका छन् ।

८ टिम सहभागी छनोट चरणमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समुहमा सिंगापुर, ओमान र मेलेसिया रहेका छन् । फाइनलमा पुग्ने दुई टिम विश्वकपमा छनोट हुनेछन् । नेपालले आफ्नो पहिलो खेलमा सोमबार सिंगापुरसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेबाट उक्त खेल सूचारु हुने क्यानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्