काठमाडौं,१२ कार्तिक । आफ्नै साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
कार्तिक १० गते मृत फेला परेका जनकपुरधाम उपमहानगरपालिका- २४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका-६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कार्तिक १० मा इस्कन मन्दिर नजिक धान खेतमा रुपेशको शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको जनाइएको छ ।
जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिबन्धित लागुऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनाको क्रममा मृतकले प्रयोग गर्ने साइकल,मोबाइल सेट,घटनामा संलग्न रहेका हरिचनले हत्या गर्ने समयमा प्रयोग गरेको टिसर्ट,बाँसको भाटा,पवन सहनीको मोबाइल समेत जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।