काठमाडौँ,१२ कार्तिक । प्रहरीले ग्रीन-टि मिलाईदिने बाहनामा होटलमा पुर्याएर लुटपाट गरेको आरोपमा काठमाडौंबाट एक रेष्टुरेन्ट सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँको माछापोखरी स्थित ‘रोयल लाउन्ज एण्ड बार’मा दुई जना भारतीय नागरिकलाई लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । उक्त होटलमा बिहीबारदेखि बस्दै आएका दुई भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित किङ्स अकबरे ममः रेष्टुरेन्टका सञ्चालक नुवाकोट घर भएका २७ वर्षीय उमेश लामा सहित ३ जना छन् ।
आरोपितहरूले काठमाडौँ महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटेलबाट भारतीय नागरिकलाई ‘सस्तोमा ग्रिन टी मिलाइदिन्छौ’ भनेर ट्याक्सीमा राखेर माछापोखरीमा लगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारतीय नागरिकहरू ९ कात्तिकबाट वाल्डो होटेलमा बस्दै आएका थिए ।
६ जनाको समूहले ट्याक्सीमा राखेर माछापोखरीमा लगेपछि कुटपिट गरेर ४९ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ ट्रान्सफर गर्न लगाएको पीडितको आरोप छ । प्रहरीले पक्राउ परेकाको साथबाट एउटा मोटरसाइकल र ५९ हजार ३ सय ५५ रुपैयाँ नगद बरामद गरेको छ।