Logo

अघि बढेन स्याफ्रुबेँसी–रसुवागढी सडकको काम



काठमाडौँ, १२ कात्तिक । सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न नसकेकै कारण भौतिक काम सुरु हुन नसकेको हो ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि र विसं २०७२ को नाकाबन्दीपछि सरकारले उच्च महत्त्वका साथ अघि बढाउने भने पनि त्यसअनुसार अघि बढ्न सकिरहेको छैन । यो खण्डको निर्माणका लागि केही समय पहिले चिनियाँ टोली आएर छलफल भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । अघि बढ्ने कुरा भए पनि उनीहरूले भनेअनुसार निर्माणस्थल खाली गराउन नसकिएको योजनाका इञ्जिनीयर सन्तराम पाण्डेयले बताए । उनले भने, “उनीहरुको अडान काम गर्न पूरै खाली हुनुपर्छ भन्ने छ ।”

पहिले सरकार र चिनियाँ पक्षबीच सम्झौता हुँदा घरटहरा हटाउने, बिजुलीको पोल हटाउने जिम्मा सरकारको र निर्माणको काम चीन सरकारको हुने उल्लेख थियो । उनीहरुले ठेक्का पनि लगाएको तर उनीहरुको माग घरटहरा पूरै हटाइसकेर ‘साइट’ पूरै ३० मिटर खाली गर्नुपर्छ भन्ने रहेको उनले बताए । उनले भने, “उनीहरूले भनेअनुसार गर्दा स्याफ्रुबेँसी बजार पूरै उठ्छ । त्यसैले अहिले जति उपलब्ध छ त्यतिमा गर्नुपर्छ ।” सडक निर्माणका लागि ठेक्का भइसक्दा पनि स्याफ्रुबेँसीमा स्थानीयले ठाउँ नछाडेकाले निर्माणमा जान नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए ।

सडकको अधिकार क्षेत्र खाली गराउन अझै एक दुई ठाउँमा विवाद छ । जैसीले भने, “स्याफ्रुबेँसी क्लियर भएपछि आउँछु भन्छन् तर गर्न सकिएको छैन ।” यो सडकमा केन्द्रबाट १५/१५ गरी जम्मा ३० मिटर चौडाइ कायम गराउनुपर्ने हुन्छ । राजमार्गमा चौडाइ त्यति चाहिने भए पनि त्यहाँ जग्गा नै उपलब्ध नहुँदा जति उपलब्ध हुन सक्छ त्यतिमा मात्रै गर्नेगरी सहमति गर्न लागिएको उनले जानकारी दिए ।

विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रूपमा स्थापित गर्ने सरकारको योजना थियो । सरकारले सडक ऐन, २०३१ को दफा ३ को खण्ड ‘ख’ अनुसार यसलाई ‘फिडर रोड’ तोकेर केन्द्रबाट १५/१५ मिटर गरी ३० मिटर कायम गरिएको थियो । योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ ।

चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्ला पर्छन् । भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरेका छन् । सरकारले यसलाई उत्तर–दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म पुग्नेछ । स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको सडकको लम्बाइ १७ किमी छ । गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ । रासस



प्रतिक्रिया दिनुहोस्