Logo

भारतले कतार हिरासतमा रहेका आठ भारतीयको सुरक्षित रिहाइको प्रयास गर्ने



नयाँदिल्ली, १३ कात्तिक । भारतीय विदेशमन्त्री एस जयशङ्करले कतारको हिरासतमा रहेका आठ भारतीयका परिवारसँग भेटेर उनीहरूको रिहाइका लागि सबै प्रयास गरिने आश्वासन दिएक छन् ।

सरकारले उक्त विषयलाई उच्च महत्व दिएको भन्दै उनले यस सम्बन्धमा परिवारहरूसँग निकटताका साथ समन्वय गर्ने बताए ।

“आज बिहान कतारमा हिरासतमा लिइएका आठ भारतीय परिवारसँग भेट गरेँ, सरकारले उक्त मामिलालाई उच्च महत्व दिएकोमा जोड दियो, परिवारसँग चिन्ता र पीडा बाँडे, सरकारले उनीहरूको रिहाइका लागि सम्पूर्ण प्रयास जारी राख्ने बताएँ, सो सम्बन्धमा परिवारहरूसँग निकटताका साथ समन्वय गरिनेछ”, विदेशमन्त्री जयशङ्करले एक्समा भने ।

कतारको फर्स्ट इन्सटेन्स अदालतले दोहामा हिरासतमा लिइएका आठ पूवैनौसैनिक अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाएपछि विदेशमन्त्रीको सो भनाइ आएको हो ।

यसअघि भारतीय विदेश मन्त्रालयले कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भन्दै विस्तृत फैसलाको प्रतीक्षा गरिरहेको बताएको थियो ।

नयाँ दिल्लीले आठ भारतीयलाई कन्सुलर पहुँच प्रदान गरेको थियो । साथै उनीहरूको रिहाइका लागि काम समेत गरिरहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्