काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा केपी शर्मा ओेलीको अभिव्यक्तिमा शान्तिप्रक्रियाबारे नेपाल विभाजित छ भन्ने देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।
‘संसदीय समितिका सभापति चयनका बेला म, ओेली र शेरबहादुर (देउवा) जीबीच शान्तिप्रक्रियाका बाँकीमा समझदारीमा टुंग्याउने सहमति भएकै हो । अहिले ओेलीजीलाई केको टेन्सन हो, मैले बुझेको छैन । म अझै पनि छलफल गरेर अघि बढ्ने सोचिरहेको छु । ढिलोचाँडो उहाँ पनि सहमतिमा आउनैपर्छ,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँगको विशेष संवादमा प्रधानमन्त्री प्रचण्डले भने ।
आफूले संक्रमणकालीन न्याय टुंग्याउन संयुक्त राष्ट्र संघको सद्भाव आवश्यक रहेको कुरा गर्दा ओेलीले बिलकुल झूटो र जानीबुझी भ्रम छर्न खोजेको आरोप पनि उनले लगाए । प्रचण्डले भने, ‘मैले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई हस्तक्षेप गरिदिनुस् भनेको होइन, सद्भाव चाहिन्छ मात्र भनेको हुँ । ब्ल्यांकेट एमनेस्टीको कुरा पनि गरेको छैन । यसलाई बंग्याएर टिंग्याएर कुतर्क गरिएको छ, उल्टोपाल्टो कुरा गरिएको छ । अन्तिम चरणमा रहेको शान्तिप्रक्रियाबारे घृणा फैलाउनु आफू सत्तामा नरहँदाको विक्षिप्त मानसिकता हो । रिस उठेको बेला कसले वेद पढ्छ र ?’
प्रधानमन्त्री प्रचण्डले आफूले ओलीलाई सोधेर फागुन १ मा जनयुद्ध दिवस मनाउने निर्णय गरेको दाबी गरे । उनले थपे, ‘मैले त्यो निर्णय गर्दा एमाले सरकारमै थियो । मैले ओलीजीलाई सोधेको पनि थिएँ । त्यो तपाईंको कुरा हो भन्नुभयो । हिजो पार्टी एकता गर्दा जनयुद्ध दिवस महान् हो भनेर उहाँले हस्ताक्षर गरेको होइन ? पार्टी एकताका दस्तावेज म हजरचोटि देखाउन सक्छु । ओेलीजी झूटा कुरा पनि हो क्यारे भनेर देखाउन सक्ने क्षमता छ । दिउँसै रात पार्ने कुरा किमार्थ सम्भव छैन ।’
साथै उनले जनयुद्ध दिवस मनाउँदा तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पनि सहमति रहेको बताए । संयुक्त राष्ट्रसंघका महासचिवको चारदिने भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल राम्रोसँग देखिएको, चिनिएको र बुझिएको पनि उनले बताए । शान्तिप्रक्रियाको पक्षमा र जलवायुको परिवर्तनका असरबारे गुटेरेसका भनाइले आफूलाई गर्व र सन्तुष्टि महसुस भएको पनि उनले सुनाए ।
सुशासनका पक्षमा आफू दृढसंकल्पित रहेको र कसैलाई जोगाउन नखोजेको पनि प्रचण्डले प्रस्ट पारे । उनले भने, ‘म अहिले प्रधानमन्त्री छु ।अदालतमा मुद्दा चलिरहेको छ । को को गिरफ्तार भए, को को भएनन् भनेर जानु उपयुक्त हुन्न । तर कृष्णबहादुर महराका बारेमा पटकपटक कुरा आएपछि गृहमन्त्री, आईजीपी र सीआईबीका अधिकारी राखेर मलाई बदनाम गराउन खोजेको भनेर कुरा राखें । महराजीसँग बयान लिइयो । माधव नेपाल र बाबुरामजीसँग पनि घन्टौं बयान लिइयो । मैले फलानो दोषी नै हो भनेर जबर्जस्ती त गर्न सक्दिनँ नि ।अरूले हल्ला मात्र गरे, मैले त कामै सुरु गरें नि ।’
अहिलेको गठबन्धन नटुट्ने उच्चस्तरको समझदारी आफू, शेरबहादुर देउवा र शेखर कोइरालाबीच भएको पनि प्रचण्डले बताए । कोसी प्रदेशको अन्यत्र नदोहोरिने र कोसीमा गठबन्धनकै सरकार रहने उनको दाबी छ । आफ्नी पत्नी सीता दाहाललाई वचन दिइसकेकाले आफूले पुस १० मा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नसकेको स्पष्टीकरण पनि उनले दिए ।
प्रचण्डले थपे, ‘मेरी श्रीमती मृत्युशय्यामा रहँदा मैले आफू तेस्रो पटक प्रधानमन्त्री बन्ने वचन दिएको थिएँ । उनको मनोबल बढाउन र केही समय भए पनि बँचाउनका निम्ति त्यो कुरा गरेको थिएँ । उनी खुसी देखिएकी थिइन् । शेरबहादुरजीसँग मैले त्यस्तो समझदारी गरिसकेको थिएँ । नत्र शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउन मलाई कुनै आपत्ति थिएन ।’
अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले सडक संघर्ष गर्न लागेको नभई जनपरिचालन गर्न खोजेको स्पष्टोक्ति दिए । साथै उनले सरकारको लोकप्रियताबाट अराजक, वितण्डावादी र प्रतिक्रियावादी तत्त्व अत्तालिएको बताए । उनले थपे, ‘राजावादीले चुरीफुरी नगरेकै राम्रो । बिलकुल असम्भव कुरा नगर्दा हुन्छ । इतिहासको चक्का फर्काउने कुरा दिवास्वप्न हो ।’
साथै प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध बनाएको अनि बीआरआई अन्तर्गत अनुदान सहयोगलाई प्राथमिकता दिएको पनि औंल्याए ।