काठमाडौं, कार्तिक १८ । जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन् । जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । एक सय भन्दा बढी घाइते भएका छन् ।
यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पनि सय बढी घाइते भएका छन् । मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । भूकम्पमा परी मृत्यु र घाइते हुनेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।