Logo

सानीभेरी गाउँपालिकाको गोदाममा एउटा पनि त्रिपाल छैन : अध्यक्ष विष्ट



काठमाडौं, २२ कात्तिक । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले आफ्नो गाउँपालिकामा भूकम्पपीडितलाई ३२ सय त्रिपाल वितरण भइसकेको र बाँकी घरपरिवारमा आजै पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।
‘राहतका सामान निरन्तर आइरहेको छ । आएका सबै सामान वितरण गरिसकेका छौं । सबै तथ्यांक पारदर्शी रुपमा सार्वजनिक गरेका छौं । अहिले हाम्रो भण्डारमा एउटा पनि त्रिपाल र कम्बल छैन । पीडित जनतालाई अझै त्रिपाल र कम्बल आवश्यक छ । तर कुनै सामान लुकाएर राखेका छैनौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।

विष्टका अनुसार कात्तिक १७ को भूकम्पबाट सानीभेरी गाउँपालिकाका ५ हजार घरमध्ये ४ हजार घर बस्न नमिल्ने छन् । ३१ सय घर पूणर् रुपमा भत्केका छन्, १ हजार घर बस्न नमिल्ने छन् । सबभन्दा बढी वडा नं १ र ४ प्रभावित छन् । सानीभेरी गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ ।
अध्यक्ष विष्टले राहतमा राजनीति नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे । उनले भने, ‘सबै संयन्त्र जुटाएर दिनरात खटिएकाले उद्धार सफल भयो । कतिपयको ज्यान जोगाउन पनि सफल भइयो । सबै परिवारलाई त्रिपाल र न्याना कपडा पुर्‍याउनु चुनौतीपूर्ण नै छ । तर कतिपय साथीहरुले आफ्नो पार्टी भनेर राहतमा राजनीति गर्न खोज्नुभएको छ । मैले यस्तो नगर्नुस् भनेको छु बिन्ती पनि गरेको छु । यस्तो विपद्मा हामीले नयाँ खालको अन्तर्विरोध सिर्जना गर्नुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्