वीरगञ्ज (पर्सा), २६ कात्तिक । वीरगञ्ज महानगरपालिका–२७ की २८ वर्षीया सोमिन्त्रादेवी काखे बालकलाई च्यापी एकाबिहानै घण्टाघरमा देखा परिन् ।
हातमा बाँसले बनाइएको ढाकी बोकेही उनले सडकमा हिँड्ने बटुवा होस् वा पसले सबैसँग सहयोग माग्छिन् । आस्था र विश्वासको पर्वको रूपमा रहेको छठपर्व गर्नलाई उनी चन्दा माग्दै हिँडेकी हुन् ।
सडकमा ढाकी बोकेर भिक्षा माग्दै भेटिएकी सोमिन्त्रा देवीले भनिन्, “त्यत्तिकै रहरले भिक्षा भागेको होइन, हरेक वर्ष भिक्षा मागेरै छठपर्व मनाउने गरेकाले यस वर्ष पनि छठपर्व गर्न भिक्षा माग्दै हिँडेकी हुँ ।
“मेरा छोरा थिएन, मैले छोरा पाउन छठ परमेश्वरीसँग मागेको थिएँ”, उनले भनिन्, “पछि छोरा पाएँ, त्यसैले अहिले भिक्षा मागेरै भए पनि छठपर्व मनाइरहेकी छु ।” भिक्षा माग्दा बटुवा र पसलेले आफ्नो इच्छाअनुसारको चन्दा सहयोग दिने गरेको उनको भनाइ छ ।
यस्तै वीरगञ्ज महानगरपालिका–१६ का १२ वर्षीय रमेशकुमार सहनी पनि हातमा बाँसको डाली लिएर एकाबिहानै घण्टाघर आइपुगेका छन् । उनी पनि छठपर्व गर्नु छ भन्दै सडकमा हिँड्नेसँग र पसल–पसलमा पुगेर चन्दा माग्ने गर्छन् ।
यसरी सोमिन्त्रादेवी र रमेशमात्र होइन, लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै यतिबेला वीरगञ्जका सडकमा डाली, ढाकी र नाङ्लो बोकेर चन्दा माग्नेको सङ्ख्या अत्यधिक देखिन्छ । यसमा बढी महिला र बालबालिका छन् ।
गरिब, धनी सबैले मान्ने यो पर्वमा दलित, गरिब, असहायले मागेर भए पनि पर्वलाई निरन्तरता दिँदै आएका छन् । यही पृष्ठभूमिमा भाखल गरेका महिलाले चन्दा मागेर भए पनि यो पर्व मनाउँदै आएका छन् । व्यापारी तथा बटुवाले आफ्नो गच्छेअनुसार छठी मैयाको नाममा चन्दा दिने गरिन्छ ।
“यो नै एउटा यस्तो पर्व हो जसलाई धनी, गरिब सबै वर्गले आस्था र विश्वासका साथ मनाउँछन्”, वीरगन्जका स्थानीय विजय रौनियारले भने, “हुनेखानेले किनेर छठका सामग्रीको जोहो गर्छन् भने गरिब तथा असहायले मागेर भए पनि निष्ठापूर्वक यो पर्व मान्ने परम्परा रहिआएको छ ।”
तराई मधेसका जिल्लामा लोक आस्था र श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी थालिएको छ । तराई मधेसमा छठको आफ्नो छुट्टै किसिमको महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको सरोवर घडिअर्डवा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाट, रामगढवालगायत ग्रामीण क्षेत्रमा रहेका पोखरीलाई स्थानीयवासीले विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।
प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । छठपर्वमा प्रयोग हुने सामानको मूल्य निकै चर्को भए पनि यसको जोहो गर्न तयारी थालिएको वीरगञ्जका स्थानीय कृष्णकुमार कानुले बताए।
यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगाबैदेखि निष्ठापूर्वक सुरु हुन्छ । अहिले गाउँगाउँ, घरघरमा छठपर्वको गीत गुन्जिने गरेको पाइन्छ । सूर्यषष्ठी अर्थात् छठपर्व प्रारम्भ हुनेछ । छठको पहिलो दिन बर्तालुले नहायखाय गरी छठपर्व आरम्भ गर्ने गरेका छन् ।
छठपर्वको दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालु दिनभरि उपवास बस्ने गर्छन् ।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको पण्डित रामकुमार शास्त्रीले बताए ।
अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्रामा बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ । पारिवारिक सुख, शान्ति रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दर्छ ।
सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ । ज्योतिषशास्त्रका आधारमा छठपर्वको समयमा ब्रम्हाण्डमा सूर्य दक्षियणतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलदकारीसमेत मानिएको छ ।
छठपर्वको मुख्य प्रसादका रूपमा रहेको केरा फलफूल, मीठाइ, अदुवा उखुलगायत बासबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ । छठ पूजाका लागि नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले बताए । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उनको भनाइ छ ।
चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लहसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ । महाभारतअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्यदेवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ ।
अर्कोतिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटलशौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको सुरुआत भएको पण्डित शास्त्रको कथन छ । छठपर्वको मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण ठानिन्छ । भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ । रासस