Logo

कांग्रेसले आफू ठूलो दल हो भन्ने महशुस गरेको दिन राजनीतिक कोर्ष परिवर्तन हुन्छ, एमाले तयार छः महेश बर्तौला



काठमाडौं, २८ कात्तिक । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले वर्तमान सरकार जनताको म्याण्डेट अनुसार नबनेको र पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन् । सरकारमा दुई सिटे, पाँच सिटे, दश सिटेहरुको दादागिरीले देश बवार्दीतर्फ गएको उनको भनाई छ । सरकारमा बस्नेहरुको अवाञ्छित गतिविधिले देशको स्रोत साधन दोहन भएको उनले बताए ।

वर्तमान सरकारले जनताको आकांक्षा बमोजिम काम गर्न नसकेको उनको आरोप छ । वर्तमान सरकारको निरन्तरता देशको बर्वादी भएको उनले बताए । ‘सरकारमा दुई सिटे, पाँच सिटे, दश सिटेहरुको दादागिरीले गर्दा बवार्दीतर्फ गयो । सरकारमा बस्नेहरुको अवाञ्छित गतिविधिले गर्दा देशको स्रोत साधन दोहन गर्नेतर्फ उहाँहरुको ध्यान गयो ।’ उनले भने, ‘देशलाई अगाडि बढाउने, जनताको आकांक्षा पूरा गर्नेतर्फ गएन । त्यस कारण यो सरकारको निरन्तरतासँग देशको बर्वादीमात्रै बढिरहेको छ ।’

वर्तमान सरकारले देशको हित सोच्न पनि नसक्ने उनले बताए । उनले सरकार कुनै न कुनै रुपमा विघटन हुन आवस्यक रहेको बताए । यो सरकार विघटन हुन आवस्यक रहेपनि कांग्रेसले आफूलाई दलको रुपमा उभ्याउन नचाहेको उनको दाबी छ ।

‘त्यसैले कुनै न कुनै रुपमा यो सरकार अब विघटन हुन जरुरी छ । यो असफल गठबन्धन देशको लागि अभिषाप भइसक्यो । देश नयाँ राजनीतिक कोर्षमा अगाडि बढ्न जरुरी छ । तर, नेपाली कांग्रेसले आफूलाई पार्टीको रुपमा उभ्याउन चाहेन,’– उनले भने ।

कांग्रेस र कांग्रेसका नेतृत्वकर्ताहरु नेकपा (माओवादी) केन्द्र र माओवादी केन्द्रका नेतृत्वको असिस्टेन्टको रुपमा काम गरेको उनले बताए । कांग्रेस माओवादीको असिस्टेन्टको भूमिकाबाट बाहिर आएर आफू संसद्को पहिलो दल हो भन्ने महशुस गरेको दिनबाटै नयाँ राजनीतिक यात्रा प्रारम्भ हुने उनको दाबी छ । त्यसका लागि एमाले तयार रहेको उनले बताए ।

‘नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) को असिस्टेन्टको रुपमा आफूलाई उभ्यायो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको असिस्टेन्टको रुपमा कांग्रेसका सभापति शेरबहादुर देउवाजी रहनुभयो ।’ उनले भने, ‘कांग्रेस वा कांग्रेसको नेतृत्व माओवादी वा माओवादीको नेतृत्वको असिस्टेन्टको रुपबाट बाहिर आएर संसद्मा पहिलो दल हो भन्ने महसुशका साथ आउँछ भने त्यतिबेला नयाँ राजनीतिक यात्रा प्रारम्भ हुनसक्छ । हामी त्यसको लागि तयार छौं । देशको हितको लागि राजनीतिक कोर्ष परिवर्तन हुन जरुरी छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot