Logo

म्याथ्युजलाई ‘टाइम आउट’ गराउने बंगलादेशका कप्तान शकिब राजनीतिमा प्रवेश



काठमाडौं,३ मंसिर । बंगलादेशका क्रिकेट ‘सुपरस्टार’ शकिब अल हसन औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन् ।

आउँदो जनवरी ७ मा हुने आमनिर्वाचनका निम्ति उनले सत्तारूढ बंगलादेश अवामी लिगबाट उमेदवारीका निम्ति नामांकन माग गरेका छन् ।

अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्न शनिबार पार्टीबाट नामांकन फाराम लिएका छन् । सो निर्वाचन बहिष्कार गर्ने प्रमुख प्रतिपक्षको तयारी छ ।

क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले भने, “उहाँ सेलिब्रिटी हुनुहुन्छ र देशका युवामाझ लोकप्रिय हुनुहुन्छ ।”

शकिबको उमेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ । नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकाको कुनै एक स्थानबाट निर्वाचन लड्ने आशा व्यक्त गरेका छन् ।

पछिल्ला १५ वर्षदेखि १७ करोड जनसंख्या भएको बंगलादेशको नेतृत्व गरिरहेकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ । यदि, विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरे उनी चौथोपटक सत्तामा फर्कने करिब निश्चित छ ।

हसिनाले मुलुकमा प्रभावशाली आर्थिक वृद्धि हासिल गरेकी छन् । तर, पश्चिमी मुलुकहरूले प्रजातान्त्रिक मूल्य–मान्यता खस्केको भन्दै उनलाई चेतावनी दिएका छन् । साथै, पछिल्ला दुई निर्वाचनमा धाँधली गरेको उनीमाथि विपक्षीहरूले आरोप लगाएका छन् ।

क्रिकेट खेल अत्यन्त लोकप्रिय रहेको दक्षिण एसियामा क्रिकेटरहरू राजनीतिमा आउनु कुनै नयाँ कुरा होइन । यद्यपि, खेल करियरकै क्रममा राजनीतिमा आउनु दुर्लभ हो ।

पूर्वक्रिकेट कप्तान मशरफ मुर्तजा सन् २०१८ मा राजनीतिमा प्रवेश गरेका थिए । सोही वर्ष उनी सत्तारूढ दलबाट विधायक निर्वाचित भएका थिए । राजनीतिमा ध्यान केन्द्रित गर्न खेल छाड्नुअघि उनले सन् २०१९ को विश्वकपमा बंगलादेशको नेतृत्व गरेका थिए ।

तीनवटै ढाँचामा बंगलादेशका नियमित कप्तान शकिब अहिले औँलाको चोटबाट ग्रसित छन् । सो चोटले उनलाई न्युजिल्यान्डविरुद्धको आउँदो टेस्ट शृंखला छोड्न बाध्य बनाएको छ । उनलाई विश्वकपमा श्रीलंकाविरुद्धको खेलका क्रममा चोट लागेको थियो ।

सोही प्रतियोगितामा उनले एन्जेलो म्याथ्युजविरुद्ध एउटा असामान्य अपिल गरेपछि चर्चा बटुलेका थिए । उनको सोही अपिलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा म्याथ्युज पहिलोपटक ‘टाइम आउट’ भएका थिए ।



प्रतिक्रिया दिनुहोस्