Logo

संविधान विरोधी क्रियाकलाप नगर्न इन्सेकको आह्वान



काठमाडौँ, ६ मङ्सिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्णरूपमा सम्पन्न गर्न आह्वान गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आ–आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गरिएको छ । गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता नेपाली लोकतन्त्र र सार्वभौमसत्ताका आधार स्तम्भहरू भएको स्मरण गराउँदै नेपालको वर्तमान राज्यसंरचना र संविधान विरोधी क्रियाकलापप्रति इन्सेकले विज्ञप्तिमार्फत असहमति जनाएको हो ।

पञ्चायतकालीन ऐनका आधारमा गरिएको बन्देजले संविधानसभाबाट जारी भएको नेपालको संविधानको धारा, १७ मा व्यवस्था गरिएको स्वतन्त्रतापूर्वक भेला तथा सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने दुष्प्रयास गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँचजनाभन्दा बढी भेला हुन निषेध गर्ने आदेश जारी गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्