Logo

कर्णालीलाई हराउँदै बागमती प्रदेश केपी ओली कपको सेमिफाइनलमा प्रवेश



काठमाडौं,८ मंसिर । ओपनर रित गौतम र ब्याटसम्यान ईशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको शानदार बलिङको मद्दतमा बागमती प्रदेशले प्रथम केपी ओली टी-२० क्रिकेट प्रतियोगीतामा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९० रनको फराकिलो अन्तरे पाखा लगाएको हो । लगातारको जितसँगै बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमतीले दिएको १९० रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १७।४ ओभरमा ९९ रनमा अलआउट भयो । उसका लागि अर्जुन घर्तीले २४, विपिन शाहीले २१ र रवीन्द्र शाहीले २० रन जोडे ।

बलिङतर्फ टिम बागमतीका कप्तानसमेत रहेका स्टार स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए । ३।३ ओभर बलिङ गरेका उनले ९ रन दिएर ४ विकेट चट्काएका हुन् । त्यस्तै दीपेश श्रेष्ठले पनि २ विकेट लिए ।

यसअघि पहिला टस जितेर ब्याटिङ गरेको बागमतीले ओपनर रित गौतमा र ईशान पाण्डेको शानदार ब्याटिङमा १८९ रनको विशाख योगफल खडा गरेको थियो । उसका लागि गौतमले ५९ बलमा १० चौका र २ छक्का हिर्काउँदै ८२ तथा ३८ बलको सामना गरेका ईशानले ४ चौका र ६ छक्का हिर्काउँदै ७० रन जोडेका थिए ।

बागमतीले पहिलो खेलमा बिहीबार मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ लाई १ सय ९ रनले पराजित गरेको थियो । एक खेल अगावै कणरली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ प्रतियोगिताबाट बाहिरिएका छन् । यी दुई टोलीबिचको खेल शनिबार हुनेछ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुनेछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot