Logo

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : उपराष्ट्रपति र सभामुखको सन्देश



काठमाडौं,मंसिर ९ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई शिक्षित, स्वावलम्बी र आत्मनिर्भर बनाउँदै उनीहरुविरुद्ध हुने लैङ्गिक, मानसिक, सामाजिक र आर्थिक हिंसा निर्मूलका लागि सबैजना दत्तचित्त भई आआफ्नो स्थानबाट सहयोग र चेतना फैलाउनु आजको आवश्यकता भएको बताएका छन् ।

महिलाविरुद्ध हुने हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा स्वदेशसहित विश्वभरका सम्पूर्ण महिला दिदीबहिनीहरुको सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै दिवसलाई कानुनले निषेध गरेको महिलाविरुद्धको सबै खाले हिंसाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा सबैले लिनुपर्नेमा उनले जोड दिएका छन् ।

“पछिल्लो समय महिलाविरुद्ध हुने हिंसाको प्रारुप, स्वरुप र तरिका अनेक रुपमा देखापर्नु अत्यन्तै चिन्ताको विषय हो, समयमै यसलाई निरुत्साहित र निर्मूलन गर्न अति जरुरी छ, यो दिवसले परिवार, समाज, देश र अन्तर्राष्ट्रिय स्तरमा महिला हिंसालाई निरुत्साहित गर्ने कार्यमा लाग्न सबैलाई उत्प्रेरित गर्न सकोस्”, जारी शुभकामना संदेशमा उल्लेख छ ।

त्यस्तै, सभामुख देवराज घिमिरेले शिक्षा र चेतनाको स्तर वृद्धि हुँदै गए पनि महिलामाथिको हिंसामा कमी नआउनु दुःखद् विषय भएको बताएका छन्। “१६ दिने अभियानले लिङ्गको आधारमा हुने सबै प्रकारका हिंसा, असमानता र विभेद अन्त्य गर्दै शोषणरहित समाजको स्थापनामा सहयोग पु¥याई सम्मानपूर्ण जीवनयापन गर्न सहयोग गर्ने विश्वास लिएको छु”, उनले शुभकामना संदेशमा उल्लेख गरेका छन् ।

हिंसा समानता, विकास र शान्ति प्राप्त गर्ने मार्गको एक बाधक भएको उल्लेख गर्दै उनले हिंसाले पीडित व्यक्तिको मानव अधिकार तथा स्वतन्त्रताको उल्लङ्घन गर्ने बताएका छन्



प्रतिक्रिया दिनुहोस्