Logo

लोकतन्त्रमा विरोध वा समर्थन गर्न पाइन्छ, तर ढुंगा हान्न पाइँदैनः गगन थापा



काठमाडौं,११ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रमा विरोध वा समर्थन गर्न पाइने तर ढुंगा हान्न भने नपाईने बताएका छन् ।

सोमबार नवलपुर कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पहिचानका नाममा समर्थन वा विरोध गर्न पाईएपनि भौतिक आक्रमण गर्नु गलत रहेको बताए । आइतबार नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईमाथि पहिचानवादीले ताप्लेजुङमा गरेको आक्रमण र सवारी साधन तोडफोड गरिएको घटनाप्रति विरोध जनाउँदै दोषिलाई सरकारले कारबाही गर्नुपर्ने बताएका छन् ।

‘अस्ति काठमाडौंमा प्रदर्शन भयो, त्यहाँ पार्टी प्यालेसबाट मानिसहरूलाई लखेट्ने काम भएको छ । ती लखेट्नेहरु को हुन् ? ती मानिसले काठमाडौंमा गएर गणतन्त्र फ्याँक्छु भनेर भन्न पाउने हक र अधिकार राख्दछन्, किनकी यो लोकतन्त्र हो,’ थापाले अघि भने, ‘त्यसको रक्षा गर्ने काम र सुरक्षा दिने काम राज्यको हो। हिजो नेकपा एमालेका सचिव योगेश भट्टराई सवार गाडीमा तोडफोड भयो, त्यो ढुंगा हान्ने को हो ? लोकतन्त्रमा विरोध वा समर्थन गर्न पाइन्छ । तर ढुंगा हान्न पाइँदैन । त्यस्तो गलत गर्नेलाई राज्यले दण्डित गर्नुपर्छ’ ।

महामन्त्री थापाले अराजकताको बलमा बैंकबाट लिएको ऋण तिर्दिन भन्दै अराजक गतिविधि गर्नेहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने बताए । उनले उनले देशमा अब भ्रष्टाचारको अन्त्य र सुशासनसहितको समाज निर्माणका लागि कांग्रेसले नेतृत्व गर्छ भनेर विश्वास जगाउन सक्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot