काठमाडौं,१५ मंसिर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले आफू देशको प्रधानमन्त्री बनेमा भ्रष्टचारीलाई टुँडिखेलमा लगेर फाँसी दिने भन्दै उत्तेजक अभिव्यक्ति दिएका छन् ।
बिहीबार उनले सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्ति दिएका हुन् । उनले आफ्नो ‘हर्क साम्पाङ अ रिभोलुसन’नामको फेसबुक पेजमा लेखेका छन् ‘म प्रधानमन्त्री बनेको दिन देशद्रोही र भ्रष्टाचारीलाई टुँडिखेलमा बाँधेर गोलि ठोक्दिन्छु लन्ठै साफ !’
साम्पाङ स्थानीय तह निर्वाचनमा धरानमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । स्वतत्तबाट चुनाव जितेदेखिनै विभिन्न अभिव्यक्ति दिँदै आएका राई श्रमदान अभियान चलाईरहेका छन् । उनले धरानबाट ४२ किलोमिटर टाढाबाट पानी ल्याएर धरानबासीलाई श्रमदानबाटै खुलाएपछि उनको चर्चा ह्वात्तै चुलिएको थियो । तर, बेलाबखत सिामाजित सञ्जालमा राईले कानुनी राज्यको उपहास गर्दै आफ्नो अभिव्यक्ति दिने गरेका कारण आलोचना खेपिरहन्छन् ।
सामाजिक सञ्जालमा विवादित टिप्पणी लेखेर आलोचना खेप्दै आएका उनले बेलाबखत विवादास्पद अभिव्यक्ति दिने गरेका छन् । उनै मेयरले देशद्रोही र भ्रष्टाचारीलाई गोली ठोक्ने भन्दै सामाजिक सञ्जालमा लेखेपछि पुन एकपटक चर्चामा आएका छन् । उनले लेखेको यो स्ट्याटसमा हालसम्म हजारौंले लाइक र कमेन्ट गरेका छन् ।