Logo

वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल मन्त्रालयमा तानिए



काठमाडौं, १६ मंसिर । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई पदबाट हटाइएको छ । गत बिहिबार बसेको स्वास्थ्यमन्त्रीस्तरीय बैठकले उनलाई वीरको कार्यकारी निर्देशकबाट पदमुक्त गर्दै मन्त्रालयमा हाजिर हुनका लागि पत्राचार गरेको हो ।

नियमानुसार वीर अस्पतालका कार्यकारी निर्देशकको पदावधि दुई वर्षको हुने भएपनि उनलाई १५ महिना पदावधि बाँकी हुँदै पदमुक्त गरी मन्त्रालय बोलाइएको छ । उनलाई मन्त्रालयमा हाजिर हुनका लागि गरिएको पत्राचारमा के कारणले मन्त्रालय तानिएको हो सो कुरासमेत खुलाइएको छैन ।

‘तपाईँ चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालको निर्देशकको जिम्मेवारीमा रहनु भएकोमा अर्को निर्णय नभएसम्म चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालको निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी मिति २०८०/०८/१५ गतेदेखि यस मन्त्रालयमा हाजिर गर्न आउनुहुन यस मन्त्रालय (मां मन्त्रीस्तर) को मिति २०८०/०८/१४ को निर्णयअनुसार अनुरोध छ,’– पत्रमा भनिएको छ ।

आफूलाई जिम्मेवारीबाट हटाइएपछि डा. पौडेलले दुई बर्षको लागि नियुक्ति पाएकोमा राजनीतिक आस्थाको आधारमा पदमुक्त गरिएको आरोप लगाएका छन् । उनले हाडजोर्नी विशेषज्ञ सर्जन मन्त्रालय तानिनुलाई ‘राणा शासन भन्दा कडा अधिनयकवाद’ को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्ः

अधिनायक तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको, ‘अक्षम’ भन्ने आरोप लगाएर हटाएको इतिहास छ । दुई वर्षको अवधि तोकी नियुक्त्ती पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएकोमात्र हैन हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो ।

यो राणा शासन भन्दा कडा अधिनयकबाद हो विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट “लोकतन्त्र लजाएको छ ।”



प्रतिक्रिया दिनुहोस्